एक सय एक वर्षीय छन्त्यालद्वारा मतदान
म्याग्दीको रघुगङगा गाउँपालिका –८ ,पात्लेखर्कका एक सय एक वर्षीय रिबहादुर छन्त्यालले मतदान गर्नुभएको छ । बिहीबार बिहानदेखि सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सोही वडाको दुलेखर्कमा रहेको रितुङ मावि मतदान केन्द्रमा मतदानमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।
जिल्ला कारागार भरतपुर मतदान केन्द्रमा सत् प्रतिशत मत खस्यो
जिल्ला कारागार भरतपुर मतदान केन्द्रमा सत् प्रतिशत मत खसेको छ । ११४ जना कैदीबन्दी र २ जना कर्मचारी गरेर ११६ जनाले मतदान गरेको कारागार प्रमुख रविन्द्र ढुङ्गनाले जानकारी दिनुभयो । यहाँ समानुपातिकमा मात्रै मत खसेको हो । सत् प्रतिशत मत खसेसगै यहाँको मतदान सकिएको छ ।
धनकुटामा ९१ वर्षीय ज्येष्ठ नागरिकद्वारा उत्साहपूर्वक मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालय मतदान केन्द्रमा ज्येष्ठ नागरिकदेखि राजनीतिक व्यक्तित्वसम्मले उत्साहपूर्वक मतदान गर्नुभएको छ।
बैतडीमा १२ हजार ९८२ मत खस्यो
बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो।
सङ्खुवासभामा शान्तिपूर्ण मतदान जारी
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।
इलाममा १० प्रतिशत मत खस्यो
दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०.३६ प्रतिशत मत खसेको छ। जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्। इलाममा १५० मतदान केन्द्रका २९०
पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान
पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं. १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो ।
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा मतदान
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
शान्ति र विकासको कामना गर्दै सुर्खेतमा मतदान
देशमा शान्ति छाओस् र छिटो विकास होस् भन्ने कामना गर्दै सुर्खेतका मतदाताले मतदानमा सहभागिता जनाएका छन्। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सहभागी ज्येष्ठ नागरिकहरूले मुलुकको शान्ति र विकासको कामना गरेका हुन्।
मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध
पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।
चार पूर्व मन्त्रीद्वारा आफ्नै निर्वाचन क्षेत्रबाट मतदान
प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका सङ्घीय सरकारका चार पूर्व मन्त्रीहरूले बिहीबार आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गर्नुभएको छ।
कञ्चनपुरमा मतदान सुरु
कञ्चनपुरमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार, जिल्ला स्थित तीन वटै निर्वाचन क्षेत्रका ३६० मतदानकेन्द्रमा शान्तिपूर्ण ढंगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिषचन्द्र जोशीले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान सूरु भएकोे बताउनुभयो ।
कोशीका मुख्यमन्त्री कार्कीद्वारा मतदान
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
बागलुङमा १० बजेसम्म ५ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्यको लागि बागलुङमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। जिल्लाका २३० मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।
नेपालगन्जमा मुस्लिम महिलाको उत्साहजनक मतदान सहभागिता
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार नेपालगन्जमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मुस्लिम महिलाको उत्साहजनक सहभागिता देखिएको छ।
बाजुरामा तीन घण्टामा १४ हजार मत खस्यो
बाजुरामा तीन घण्टामा १४ हजार मत खसेको छ। यहाँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अहिलेसम्म करिब १४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सुरेन्द्र पाण्डेले भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नुभयो
नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकास्थित भण्डारा अस्पताल केन्द्रबाट मत हाल्नु भएको छ । मत राखेपछि सञ्चारकर्मीहरु सङ्ग कुरा गर्नुहुदैं अहिलेको निर्वाचनले आर्थिक समृद्धि तर्फ लैजान मद्यत गर्ने विश्वास व्यक्त गर्नु भयो । जटिल परिस्थितिमा भएको निर्वाचनले देशलार्इ निकास दिन सकोस भन्ने शुभकामना दिनु भएको छ ।
विकट बस्तीमा उत्साहजनक सहभागिता
प्रतिनिधि सभा सदस्य निर्वाचनमा विकट बस्तीमा मतदाताहरुको उत्साहजनक सहभागिता भइरहेको छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नं. १ र २ का विकट बस्तीहरुमा मतदाताको उत्साहजनक सहभागिता भएको हो ।
एमाले उपमहासचिव भट्टद्वारा कैलाली–४ मा मतदान
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागारमा शतप्रतिशत मत खस्यो
ताप्लेजुङको अस्थायी मतदान केन्द्र कारागार कार्यालयमा शतप्रतिशत मत खसेको छ । दुई अस्थायी मतदान केन्द्रमध्ये कारागार कार्यालयमा शतप्रतिशत ४२ मत खसेको हो ।
दाङका दुई मतदान केन्द्रमा मतदान सुरु हुन सकेन
मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन।
पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ ।
भोजपुरकी १०२ वर्षीया खड्काद्वारा मतदान
भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले श्री सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गर्नुभएको छ । जिल्लाबाट आज ५९ हजार २ सय ५३ जना महिला र ६४ हजार १ सय २५ जना गरी कुल १ लाख २३ हजार ३ सय ७९ जनाले १ सय ६१ मतदान केन्द्रबाट मतदान गर्दैछन । त्यस्तै जिल्लामा एउटा प्रतिनिधिसभा सदस्यका लागि १२ वटा दलले सहभागीता जनाएका छन् ।
प्रतिनिधि सभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। बिहान १० बजेसम्म देशभर दस लाख ६५ हजार १२० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।