साधन घर्ती
म्याग्दी (दरबाङ), फागुन २१ गते । म्याग्दीको रघुगङगा गाउँपालिका –८ ,पात्लेखर्कका एक सय एक वर्षीय रिबहादुर छन्त्यालले मतदान गर्नुभएको छ । बिहीबार बिहानदेखि सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सोही वडाको दुलेखर्कमा रहेको रितुङ मावि मतदान केन्द्रमा मतदानमा पुगेर उहाँले मतदान गर्नुभएको हो । साथै सोही मतदान केन्द्रमा उहाँकी बहिनी पात्लेखर्क निवासी ८८ वर्षीय शोभा छन्त्याल मतदान गर्नुभएको छ ।
जिल्लाभर रहेका ८२ वटा मतदान स्थलका एकसय २० मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी एकसय २२ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता छन् ।
एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ८२ वटा मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्रसहित १ सय २२ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ मतदानस्थललाई समान्य भनेर बर्गीकरण गरेको छ ।