• २१ फागुन २०८२, बिहिबार

प्रतिनिधि सभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मत खस्यो

blog

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। बिहान १० बजेसम्म देशभर दस लाख ६५ हजार १२० मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जुन करिब ६ प्रतिशत हो ।

बिहीबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। आयोगले तोकेको समयभित्र मतदानस्थल परिसरमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ ।

एक निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ। यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिइन्छ र प्रत्येक दलले प्राप्त गरेको कूल मत सङ्ख्याको अनुपातमा सो दलका तर्फबाट उम्मेदवार प्रतिनिधि सभामा निर्वाचित हुने व्यवस्था छ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानमा सहभागी हुँदैछन्। त्यसका लागि १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। १४३ अस्थायी मतदान केन्द्रमा करिब डेढ लाख मतदाता प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदानमा सहभागी हुँदैछन्।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।