कोकिला भण्डारी
धनकुटा, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालय मतदान केन्द्रमा ज्येष्ठ नागरिकदेखि राजनीतिक व्यक्तित्वसम्मले उत्साहपूर्वक मतदान गर्नुभएको छ।
प्रतिनिधि सभा सदस्य एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा ९१ वर्षीय ज्येष्ठ नागरिक पदमबहादुर कार्कीले ‘क’ मतदान केन्द्रमा मतदान गर्नुभयो। उमेरजन्य कारणले स्वयं मतपत्रमा सङ्केत गर्न असहज भएपछि उहाँले आफ्ना छोराको सहयोगमा मतपत्रमा छाप लगाएर आफैं वाकसमा खसाल्नुभयो। स्थानीयवासीका अनुसार, ज्येष्ठ नागरिकको सक्रिय सहभागिताले लोकतान्त्रिक अभ्यासप्रति नागरिकको भरोसा र प्रतिबद्धता झल्काएको छ।
उक्त मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार जितेन्द्र राई र नेपाली कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले पनि मतदान गर्नुभएको छ।
अन्य मतदान केन्द्रमा पनि उम्मेदवारहरूले मतदान गर्नुभएको छ। स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ्गले धनकुटा नगरपालिका–१, माध्यमिक विद्यालय हिलेस्थित ‘ग’ मतदान केन्द्रमा मतदान गर्नुभयो। नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले धनकुटा नगरपालिका–६, बहुउद्देश्यीय सामुदायिक भवनस्थित ‘क’ मतदान केन्द्रबाट मत खसाल्नुभयो।
नेकपा एमालेका उम्मेदवार एवं पूर्व मन्त्री राजेन्द्र कुमार राईले पाख्रिबास नगरपालिका–७, सरस्वती आधारभूत विद्यालयस्थित ‘ख’ मतदान केन्द्रमा मतदान गर्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धर्मराज पौडेलले महालक्ष्मी नगरपालिका–१, हिमालय माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले महालक्ष्मी नगरपालिका–८, जनता माध्यमिक विद्यालयस्थित ‘क’ मतदान केन्द्रमा मतदान गर्नुभएको छ।ज्येष्ठ नागरिक तथा अन्य मतदाताको उत्साहपूर्वक सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकको आस्था र जिम्मेवारी बोध झल्काएको छ। जिल्ला निर्वाचन अधिकृतका अनुसार मतदान शान्तिपूर्ण र मर्यादित वातावरणमा सञ्चालन भइरहेको छ।