• १७ चैत २०८२, मङ्गलबार

प्यूठानमा बन्दैछ पाँचवटा नयाँ झोलुङ्गे पुल

blog

मल्लरानी गाउँपालिका –५ कालाखोलामा गत वर्ष निर्माण भएको झोलुङ्गे पुल । तस्बिरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्यूठान, चैत १६ गते । चालु आर्थिक वर्षमा प्यूठान जिल्लामा पाँचवटा नयाँ झोलुङ्गे पुल निर्माण हुन थालेको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी पुल निर्माण कार्य अघि बढेको हो ।

माण्डवी गाउँपालिका–४ स्थित ज्यामुरे–बालुवा झोलुङ्गे पुल, नौबहिनी गाउँपालिका–४ मा बोक्सा चौतारा स्टिल ट्रस पुल, ऐरावती गाउँपालिका–६ मा छथुम–गोठिवाङ स्टिल ट्रस निर्माण हुन लागेको छ । 

त्यसैगरी प्यूठान नगरपालिका–५ मा दुईवटा पुल निर्माण कार्य अघि बढेको छ । सिक्रेखोला स्टिल ट्रस पुल र कुनापानी–ठुलो गाउँ स्टिल ट्रस पुल निर्माण कार्य भइरहेको पुल निर्माणमा प्राविधिक सहयोग गर्ने संस्था मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका प्राविधिक सञ्जय केसीले बताउनुभयो ।

“स्टिल पाटर््स पालिकाले टेन्डर गर्ने प्रक्रियामा रहेका छन” केसीले उहाँले भन्नुभयो,“ निर्माण कार्य उपभोक्ता समितिमार्फत हुने गर्दछ ।” पूर्व सम्भाव्यता अध्ययन, डिपिआर बनाउनेदेखि निर्माण सम्पन्न हुँदासम्म संस्थाले समिति गठन र प्राविधिक सहयोग निरन्तर गर्ने उहाँको भनाइ छ । पाँचवटा पुल निर्माण गर्न एक करोड ७६ लाख सात हजार दुईसय ९७ रुपियाँ लागत रहने बताइएको छ । 

पुल निर्माणमा १३ प्रतिशत पालिकाको लगानी र दुई प्रतिशत उपभोक्ता समितिको श्रमदान रहने प्राविधिक केसीले जानकारी दिनुभयो । पुल निर्माणका लागि संघीय सरकारले पालिकामा अनुदान पठाउने गर्छ । अघिल्लो वर्ष जिल्लामा ७ वटा झोलुङ्गे पुल निर्माण भएको थियो । संस्थाले प्यूठान र रोल्पा जिल्लामा १२० मिटर भन्दा छोटो झोलुङ्गे पुल र ट्रस पुल निर्माणमा सहजीकरण गर्दैआएको छ ।