• २१ फागुन २०८२, बिहिबार

सङ्खुवासभामा शान्तिपूर्ण मतदान जारी

blog

खाँदबारीस्थित टुँडिखेल मतदान केन्द्रमा ९९ वर्षीय ज्येष्ठ मतदाता काजिलाल श्रेष्ठले मतदान गर्नुहुँदै । तस्बिर : सुजन बज्राचार्य

सुजन बज्राचार्य
सङ्खुवासभा, फागुन २१ गते ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।

खाँदबारीस्थित टुँडिखेल मतदान केन्द्रमा ९९ वर्षीय ज्येष्ठ मतदाता काजिलाल श्रेष्ठले मतदान गर्नुभएको छ। उहाँले उमेरको उत्तरार्धमा पनि मतदानमा सहभागी भई अन्य मतदातालाई मतदान गर्न प्रोत्साहित गर्नुभयो।

जिल्लाभर बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन्। कतिपय केन्द्रमा बिहानैदेखि मतदाताको लाम देखिएको छ भने महिला मतदाताको सहभागिता पनि उल्लेख्य रहेको छ।

निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सङ्खुवासभाले जनाएको छ।