भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २१ गते । कञ्चनपुरमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार, जिल्ला स्थित तीन वटै निर्वाचन क्षेत्रका ३६० मतदानकेन्द्रमा शान्तिपूर्ण ढंगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिषचन्द्र जोशीले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान सूरु भएकोे बताउनुभयो ।
जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुले पनि मतदान गरिरहनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा प्रत्यक्ष तर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित गोरखा आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभयो । त्यसै गरी, निर्वाचन क्षेत्र–२ बाट नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंहले कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित उदय माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले बिहीबार बिहान ७ः३० बजेको समयमा भीमदत्त नगरपालिका वडा नम्बर ६ स्थित मतदान केन्द्र रहेको शान्ति निकेतन माविबाट मत खसाल्नु भएको छ ।
यसै गरी, निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका उम्मेदवार एवं पुर्वमन्त्री नारायणप्रकाश साउँदले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ स्थित बैजनाथ मावि कसरौलबाट मतदान गर्नुभएको छ । निर्वाचन क्षेत्र २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव पन्तले शुक्लाफाँटा नगरपालिका–५ स्थित मतदान केन्द्र रहेको शिवसंकर माध्यामिक विद्यालयको बुथमा मतदान गर्नुभएको छ ।
निर्वाचन क्षेत्र–३ मा रहेको महेन्द्र मा.वि कटानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले मतदान गर्नुभएको छ ।
मतदाताहरु लाइनमा लागेर पालै पालो मतदानमा सहभागि हुनुभएको छ । मतदानमा महिला र पुरुष छुट्टाछुट्टै लाइनमा लाग्नुभएको छ । मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।