राजधानीमा रहेका नाटकघरमा दिनहुँजसो नाटक मञ्चन हुने गरेको छ । नाटकका दर्शक सीमित भए पनि नियमित रूपमा नाटक मञ्चन हुनु नाटक पारखीका लागि खुसी विषय हो । नियमित नाटक मञ्चनले रङ्गकर्मीमा उत्साह र जाँगर थपिएको छ । थिएटरमा नाटक हेर्न दर्शक आऊन्÷नआऊन् नयाँ नाटकको अभ्यास र प्रदर्शन भने चलिरहेको छ । यो क्रम काठमाडौँमा मात्र सीमित नभएर काठमाडौँबाहिरका नाटकघरमा समेत चलिरहेको छ ।
चित्रकला विधालाई विश्वभाषा मानिन्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै भाषा आवश्यकता पर्दैन । चित्रकला त्यो विधा हो; जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ । चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङको माध्यमबाट क्यानभासमा उतार्ने काम चित्रकारले गर्छन् । परिकल्पनालाई क्यानसभामा चित्रण गरी विश्वसमाजलाई थप चिन्तनशील बनाइदिने कार्य कलाकारले नै गरिरहेका हुन्छन् । राफेल, भेनगाग, डाली, पिसारो, लियोनार्दो दा भिन्ची, पाब्लो पिकासो, मोने, माने, दोमियर, कुर्बे, कान्दस्की, विलियम डी कनिङ, ज्याक्सन पोलकलगायत सयौँ कलाकारले विश्वकलाको विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
चलचित्रमा नवप्रवेशीको सङ्ख्या बढ्दै गइरहेका बेला पुराना स्थापित कलाकार भने चलचित्र क्षेत्रबाट टाढा हुन थालेका छन् । पुराना कलाकारको चलचित्रमा उपस्थिति निकै पातलो देखिन थालेको छ । दशकअघिसम्म नायक निखिल उप्रेतीको फोटो पोस्टरमा आए मात्र पनि चलचित्र चल्ने पक्कापक्की जस्तै हुन्थ्यो । चलचित्र निर्देशकहरूले ‘एक्सन’ चलचित्रका लागि निखिलकै नाम पहिला लिने गर्थे तर पछिल्ला दिनमा निखिल यो क्षेत्रबाट गुमनाम जस्तै छन् ।
मौलिक गीत/सङ्गीतमा छुट्टै मिठास छ । घण्टौँ घोत्लिएर सबैलाई मन्त्रमुग्ध बनाउन खपिस हुनुहुन्छ नारदमणि हार्तम्छाली । भित्री मनमा मौलिक बाजा संरक्षणको हुटहुटी छ । कलाका सबैजसो विधामा उत्तिकै रमाएका भेटिनुहुन्छ हार्तम्छाली । सङ्गीतले भूगोल चिनाउनु पर्छ भन्नेमा उहाँ विश्वास गर्नुहुन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छाली विभिन्न प्रतिभाका धनी हुनुहुन्छ । मूर्तिकारका रूपमा पहिचान बनाउनुभएका उहाँले ललितकला क्याम्पसबाट कलामा स्नातक र त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हालसम्म खासै चल्न सकेका छैनन् । गुरुङले निर्देशन गरेका चलचित्रको प्रचारप्रसार खुब गरिन्छ तर जब चलचित्र हलमा चल्ने बेला आउँदा दर्शक नपाउने समस्या सिर्जना हुन्छ । यद्यपि गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी’ ले सोचेभन्दा राम्रो व्यापार गरेको थियो । यसपछि यसैको दोस्रो र तेस्रो भागले खासै दर्शकको ध्यान खिच्न सकेन । चौथो भाग ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा निर्देशक गुरुङको निर्देशकीय पक्ष धेरै नै खस्किसकेको थियो ।
नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले मनाइन्छ । विगतका दिनमा भएका हानिनोक्सानी तथा राम्रा नराम्रा घटनाक्रमको विवेचना गरेर आउँदा दिनमा ती सबै अनुभवलाई पाठका रूपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने सङ्कल्प यही दिनमा गर्ने गरिन्छ । नयाँ वर्षको दिन भनेको नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ कामको सुरुवाती गरिने दिनका रूपमा लिइन्छ ।
पछिल्लो समय समाजलाई जस्ताको तस्तै रङ्गमार्फत उतार्ने तथा सांस्कृतिक आदानप्रदान गर्ने दरिलो माध्यमका रूपमा स्थापित हुँदै गएको छ, चित्रकला । चित्रकारले मनमस्तिष्कले सोच्न नसकेका विषयलाई चित्रमा सुन्दर आकार दिने गर्छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली नेपालमा अहिले चित्रकलाले व्यावसायिक गति लिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले चित्रकला विस्तार भइरहेको छ । विभिन्न क्याफेमा कला प्रदर्शनी हुन्छ । यसबाहेक अपार्टमेन्ट र हाउजिङहरूमा पनि कला सजिन थालेका छन् । यसले कलाको महत्व झन् बढेर गएको छ ।”
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० सन्तोषजनक देखिएन । वर्षको सुरुमा अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘बिहे पास’ र ‘जारी’ प्रदर्शन भयो भने चैत ३० गते राई अभिनीत चलचित्र ‘डिग्री माइला’ प्रदर्शनसँगै यो वर्षको अन्त्य हुँदै छ । यो वर्ष ‘जारी’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो भने बिहे पास, हात्तीछाप, नीरफूल, दिमाग खराब, नाङ्गो गाउँ, परदेशी–२, पशुपति प्रसाद–२ भस्मे डन, रङ्गोली, अगस्त्य, गोर्खा वारियर जस्ता चलचित्रलाई लगानी उठाउन हम्मे हम्मे प¥यो ।
नेपाली नाटकघरको यो वर्ष निकै उत्साहजनक रह्यो । रङ्गकर्मीहरू वर्षभरि नाटक मञ्चनमा सक्रिय देखिए । धेरैजसो थिएटर काठमाडौँ केन्द्रित भएकाले नाटक पनि धेरै मञ्चन भए । नाटकका कथामा विविधता देखियो । मण्डला, सर्वनाम, शिल्पी, कौसी, आरोहण गुरुकुलको कुञ्ज, ओजेस, पुरानोघर, शैली, स्टुडियो नियमित जस्तै नाटक मञ्चन भए । यस वर्ष मञ्चन भएको ‘एउटा सपनाको अवसान’, ‘हिउँभन्दा चिसो’, ‘दमिनी भिर’, ‘मासिन्या’ जस्ता नाटकहरूमा दर्शकको भरिभराउ उपस्थितिले रङ्गमञ्चलाई अझ माथि उठाउन मद्दत ग¥यो ।
काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्व रहेको छ । औँसी तिथिमा मनाइने घोडेजात्राले तान्त्रिक मान्यतालाई आत्मसात् गरेको पाइन्छ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । यो दिन टुँडिखेलमा घोडा दगुराउने कामका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि गर्ने गरिन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठुलो चाड पनि हो । नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा रहिआएको छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिएर सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ ।
तुलनात्मक रूपमा हास्य प्रदान चलचित्रलाई संसारभरि दर्शकले नै धेरै रुचाउने गरेको पाइन्छ । बलिउडमा मात्र नभएर हलिउड र कलिउडमा पनि यो विधाले दर्शकको मन जित्न सफल भएको छ । पैसा कमाउनेदेखि लिएर ठगी गर्नेका विषय समेटिएका हास्य कथा चलचित्रका पर्दामा आइसकेका छन् ।
नेपाली भाषा, साहित्य र संस्कृतिले विस्तारै विश्व साहित्यको रूप लिन थालेको छ । नेपाल मात्र नभएर भारत, म्यान्मार, बङ्गलादेश, युरोप, अमेरिकाका विभिन्न मुलुकमा नेपालीको बसाइँसराइले गर्दा नेपाली साहित्यको विस्तार द्रुत गतिमा भइरहेको छ । नेपाली भाषीको बसाइँसराइसँग नेपाली भाषा, साहित्य, संस्कार पनि विस्तार हुँदै गएको छ ।
चलचित्र सम्पादन प्राविधिक काम हो । दृश्य सम्पादकले चलचित्र काट्न र जोड्ने कामको कलाकुशलताले मात्र चलचित्रमा निखारता आउँछ । चलचित्रको जति राम्रो नायक, नायिकाको सहभागिता र छायाङ्कन सुन्दर तरिकाले गरे पनि दृश्य सम्पादनको काम गुणस्तरीय हुन सकेन भने कथाकारले सोचे जस्तो अनि निर्देशकले कल्पना गरे जस्तो चलचित्र नबन्न सक्ने सम्भावना उत्तिकै रहने गर्छ । चलचित्रका पटकथा, गीत, सङ्गीत जति मिलेका र जनजिब्रोमा झुन्डिने खालका भए पनि उपयुक्त स्थानमा उपयुक्त दृश्य राख्न नसकिएको खण्डमा चलचित्र चाहे अनुसार उत्कृष्ट बन्न नसक्ने चुनौती सधैँ रहने गर्छ । त्यसैले चलचित्रको अन्तिम नायक, कलाकार अनि गीतकार नै दृश्य सम्पादक हो भन्दा फरक पर्दैन तर तिनै प्राविधिक व्यक्तिले पाउने सेवासुविधा भने निकै कम भएको गुनासो आउन थालेको छ । चलचित्र सम्पादन कलाको विशिष्ट रूपमध्येको एक भएको चलचित्र सम्पादक रजनीनाथ पन्त बताउनुहुन्छ ।
पाँचदिवसीय बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८० मा कलाकार टासी सलका शेर्पाको स्थापना कलाले धेरैको ध्यान खिच्न सफल भएको छ । प्रदर्शनीमा ट्याटु कला र स्थापनाको अद्वितीय मिश्रण मिसिएको छ । ‘मरी लानु के छ र ? के साथमा लिएर जाने छौँ ?’ उक्त श्मशानमा सुताइएको व्यक्तिले स्थापना, मृत्युदर र भौतिक सम्पत्तिको नश्वरताको विश्वव्यापी विषयवस्तुलाई समाहित गर्ने कोसिस गरेको छ । ट्याटु र घाउको दागले सजिएको उक्त लास ओछ्यानमा आराम गरेको चित्रको मार्मिक चित्रणको माध्यमबाट कलाकृतिले दर्शकलाई जीवनको क्षणिक प्रकृति र अमूर्त विरासतको स्थायी महत्वलाई चिन्तन गर्न चुनौती दिन्छ ।
हलिउडमा मूलधारका चलचित्र थ्रिडीमा निर्माण हुने गरेका छन् तर बलिउड र कलिउडमा भने अझै निर्देशक÷निर्माताले थ्रिडी चलचित्र निर्माणमा खासै आँट गर्न सकेको देखिँदैन । बलिउडमा छोटा चेतन, हन्टेड, रावन, डन २ जस्ता चलचित्र थ्रिडीमा बने तर खासै चर्चा बटुल्न भने सकेन । नेपाली चलचित्र पनि थ्रिडीमा खासै चलचित्र निर्माण भएका छैनन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘भिजिलान्ते’ थ्रिडीमा निर्माण भएको एक मात्र चलचित्र हो तर सो पनि चलचित्रले खासै सफलता हात पार्न सकेन ।