काठमाडौँ, मङ्सिर १९ गते । जीवन्त अभिनय, उत्कृष्ट नृत्य र द्वन्द्वबाट मात्र होइन, सामाजिक कार्यबाट पनि दर्शकको मनमष्तिस्कमा बस्न सफल हलिउड र भारतीय चलचित्र क्षेत्रका कलाकारले समग्र समाजलाई नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । कमाइमा मात्र होइन, सर्वसाधारणलाई सजिलै आफूतिर आकर्षित गर्ने क्षमता पनि उनीहरूसँग छ । विशेषतः भारतीय कलाकारको ‘क्रेज’ यतिसम्म छ कि उनीहरू राजनीतिमा समेत सजिलै सफल भएको पाइन्छ । कलाकारप्रतिको पागलपन यतिसम्म छ कि मूर्ति बनाएर उनीहरूलाई पुजिन्छ र बिरामी पर्दा महायज्ञ लगाइन्छ । यस्तो क्रेज नेपाली चलचित्र उद्योगमा पाइन्छ ? निर्देशक केपी पाठक भन्नुहुन्छ, “कलाकारले नै कलाकारको सम्मान गर्न नजान्दा कलाकारको महत्व घट्दै छ । विदेशमा कनिष्ठ कलाकारले वरिष्ठको खुट्टा छोएर मानसम्मान गर्ने चलन छ तर हाम्रो यहाँ ठिक उल्टो छ ।”
उहाँ भन्नुहुन्छ, “सानाले ठुलालाई आदर पनि नगर्ने । उल्टै तँभन्दा म के कम भन्दै जाइलाग्ने चलन छ । मिडियादेखि लिएर सबैमा गालीगलौज मात्र गर्ने चलन छ । यस्तो प्रवृत्तिले यहाँका कलाकारको भ्यालु के हुन सक्छ ? दर्शकले पनि जे देख्यो त्यही गर्ने त हो ।”
“यहाँ म फलानो कलाकारको फ्यान हो, उसको चलचित्र मैले हेर्नै पर्छ भन्ने कति नै छन् त ?” उहाँ प्रतिप्रश्न गर्नुहुन्छ, “बलिउडमा अमिताभ बच्चनदेखि लिएर सलमान खानसम्मलाई देउता जस्तो पुज्ने चलन छ । यहाँ त्यस्तो समय कहिले आउँछ ? फ्यान फलोइङ राम्रो भए पो विभिन्न किसिमका सम्मान, मूर्ति बनाउने काम हुन्छ ।”
“चलचित्र जति चले पनि दर्शकले खासै महत्व दिएनन् भने त्यसको औचित्य के त ?” उहाँले थप्नुभयो, “सकेसम्म दर्शकसामु नकारात्मक भावना फैलन नदिने, समाजप्रति जिम्मेवार हुने, राम्रो चलचित्र बनाउने र आफ्नो दर्शक बढाउने जस्ता कुरातिर लागे कलाकारको क्रेज बढ्छ ।”
निर्देशक ज्ञानेन्द्र देउजाको भनाइ केही भिन्न छ । “नेपालमा मूर्ति बनाएर राख्नलायकका कलाकार कति छन् ?” उहाँ भन्नुहुन्छ, “यहाँका कलाकारको क्रेज नै त्यस्तो छैन । बलिउडमा अमिताभ बच्चनलाई भगवान् मान्छन् । कुनै बेला एउटा संस्कार बस्यो भने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल जस्ता कलाकारका मूर्ति बन्न सक्लान् तर त्यस्तो परम्परा पनि छैन ।” निर्देशक नवल नेपाल भने समय अनुसार सबै हुँदै जाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला सुटिङ हुँदा गाउँभरिका मान्छे खाजा बोकेर सुटिङ हेर्न आउने गर्थे । कलाकारलाई छुन उत्साहित हुन्थे । अहिले सीमित कलाकारबाहेक अन्य कलाकार बाटोमा हिँडिरहँदा पनि कसैले वास्ता गर्दैनन् ।” यसले पनि कलाकारप्रतिको क्रेज झल्किन्छ । कुनै समय यस्तो थियो, जुन बेला सुपरस्टारको चलचित्र हेर्नु पर्छ भन्ने दर्शकको मनोविज्ञान थियो । अहिले दर्शकले विषयवस्तु खोज्न थालेका छन् । उहाँ भन्नुहुन्छ, “हिजो एक समय थियो, स्टार कलाकारलाई लिएर बनाउँदा चलचित्र चल्थ्यो भन्ने तर अहिले कलाकारको क्रेजले चलचित्र बन्न थालेको छ ।”
कुनै समय दर्शकले राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेती, आर्यन सिग्देल, पल शाह, अनमोल केसी, प्रदीप खड्का, दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, दीपाश्री निरौलाको चलचित्र कुरेर नबसेको होइन । कथावस्तुसँग मिल्दो अभिनय गरेर यी कलाकारले दर्शकको मन जितेका होइनन् । केही समयअघि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का कलाकार विजय बराललाई पनि दर्शकले त्यसरी नै मन पराएका छन् । दर्शकको हृदयमा स्थापित हुन कलाकारले अझ खारिएर र माझिएर अघि बढ्नु पर्छ, त्यसो गर्दा क्रेज मात्र होइन, भ्यालु पनि बढ्छ ।