पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक १४ गते । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल गाउँपालिका बिच औपचारिक सम्झौता भएको हो ।
गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीका अनुसार, यो शैक्षिक सहयोग कार्यक्रम गाउँपालिकाभित्रका शैक्षिक दृष्टिले पछाडि परेका, तर उच्च सम्भावना बोकेका विभिन्न चार विद्यालयहरूमा सञ्चालन गरिनेछ ।
सहयोग कार्यक्रम मार्फत विद्यालयहरूमा भौतिक पूर्वाधार सुधार, शिक्षण–अधिगम गुणस्तर वृद्धि, विद्यार्थीहरूको सीप विकास र अभिभावक र समुदायको जागरुकता लगायतका गतिविधि गरिने छ ।
यस साझेदारीमार्फत विद्यालयहरूको समग्र शैक्षिक वातावरण र गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार, विशेषत सरावल गाउँपालिकाले यो सहकार्यले आफ्नो स्थानीय सरकारको “गुणस्तरीय र सबैका लागि शिक्षा” को लक्ष्य हासिल गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
सहयोग कार्यक्रमका श्री जनता आधारभूत विद्यालय, सरावल–५, धनगडवा, विनोद–निता कण्डेल आधारभूत विद्यालय, सरावल–५, दुबैलिया, जनता माध्यमिक विद्यालय, सरावल–६, भुजहवा र महेन्द्र जनता माध्यमिक विद्यालय, सरावल–६, गडौरीमा सञ्चालन गरिनेछ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                