• १४ कात्तिक २०८२, शुक्रबार

प्रशासकीय भवन निर्माणः ८० प्रतिशत भौतिक प्रगति

blog

मदाने गाउँपालिकाको प्रशासकीय भवन । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, कात्तिक १४ गते ।
पश्चिम गुल्मीको मदाने गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य धमाधम भएको छ । वडा नम्बर–६, पुर्कोटदहको सेवा प्रवाह गर्दै आएको यस पालिकाको प्रशासकीय भवन निर्माणको भौतिक प्रगति हालसम्म ८० प्रतिशत भएको मदाने गाउँपालिकाका सूचना अधिकारी सुशील पोखरेलले जानकारी दिनुभयो ।

सूचना अधिकारी पोखरेलका अनुसार मदाने गाउँपालिका, सङ्घीय शसर्त अनुदान र स्थानीय पूर्वाधार विभाग पुलचोकको संयुक्त लगानीमा वडा नम्बर–६ पुर्कोटदहको छिर्नेमा निर्माणाधीन भवनको हालसम्म ७८ दशमलव ५४ प्रतिशत आर्थिक प्रगति भएको छ । भवनको रङरोगन र फिनिसिङ गर्ने काम सकिएको उहाँले बताउनुभयो । कुल आठ करोड २७ लाख १८ हजार २०६ रुपियाँ १२ पैसा लागतमा १८ कोठा, एक सभाहल र एक क्वाटर निर्माण भएको हो ।

प्रशासकीय भवन र चेमना गृहको काम सकिएको छ । लिफ्ट जडान र आवासको भवन निर्माण गर्न बाँकी छ । कामको निरन्तरता हेर्दा आगामी असार मसान्तसम्म्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि हालसम्म छ करोड ४९ लाख ७३ हजार ६९६ रुपियाँ ३९ पैसा भुक्तानी भइसकेको छ । भवन निर्माणका लागि २०७८ जेठ २६ गते अर्जुन धुलिखेल न्यु लिजा जेभि प्रालिसंग सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार २०७९ मङ्सिर २५ गतेभित्र निर्माण व्यावसायीले भवन निर्माणको काम सक्नु पर्ने थियो । बजेट अभावका कारणा लगातार चार पटकसम्म भवन निर्माणका म्याद थप गरिएको हो । पछिल्लो समय काम लगातार भएको छ । भवन निर्माणसंगै हस्तान्तरण भएपश्चात् ईन्टेरियर व्यवस्थापनपछि नवनिर्मित भवनबाट सेवा प्रवाह सुचारु गरिने गाउँपालिकाले जनाएको छ । सो प्रशासकीय भवन छ रोपनी क्षेफलमा रहेको छ ।