• १४ कात्तिक २०८२, शुक्रबार

प्रहरीमाथि हातपात गर्ने तीन पक्राउ

blog

देवराम यादव

सप्तरी, कात्तिक १३ गते । सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारवाहीको  प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा १ का ३५ वर्षीय रोहितकुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका –१ रायपुरका ३६ वर्षीय मिथुनकुमार चौधरी रहेका छन् ।

प्रहरीमाथि हातपात र ढुंगा प्रहार भएको घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका तीनैजनामाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढेको बताउनुभयो ।

बुधबार राति करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका –१ गोबिन्दचोकस्थित एक खाजा पसलमा केही व्यक्तिहरुले ढुंगामुढा गरिरहेको जानकारी आएपछि प्रहरीलाई खवर गरेको वडाध्यक्ष जिवछ साहले बताउनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रुपनीबाट पुगेको प्रहरी टोलीले ढुंगामुढा गर्नेहरुलाई सम्झाउने प्रयास गरेका थिए । तर उनीहरुबाट प्रहरीमाथि नै हातपात र ढुंगा प्रहार हुँदा दुई जना प्रहरी घाइते भएका थिए ।

घटनामा प्रहरी नायव निरीक्षक तुलसी यादव र प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । तुलसीको टाउको, हात र घुँडामा चोट लागेको छ । उहाँको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ । रञ्जितको सामान्य उपचार गरिएको छ । घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो  ।