काठमाडौँ, मङ्सिर १५ गते । अमेरिका ! एउटा सपनाको देश जहाँ हरेक नेपाली पुग्न चाहन्छन् । कस्तो छ अमेरिका ? त्यहाँका नियम कानुन के कस्ता छन् ? चलचित्र ‘तेल भिसा’ ले अमेरिकामा बसेका नेपालीले भोगेको दुःख र त्यहाँको रहनसहनको कथा उजागर गर्छ । चलचित्रको नाम नै सुन्दा फरक लाग्न सक्छ । के होला ‘तेल भिसा’ ? तेल र भिसाको सम्बन्ध के त ? यी दुवै शब्दले के भन्न खोजेका हुन् ? के अमेरिका पुगेका छोराछोरीले आफ्ना सन्तान हुर्काउन मात्र बुवाआमालाई अमेरिका बोलाउने हुन् ? यसै पनि विदेशमा रहेका छोरीबुहारी सुत्केरी भएपछि नेपालबाट स्याहार्नका लागि बुवाआमा जानु कुनै नौलो विषय होइन तर यही विषयलाई व्यङ्ग्यात्मक तवरले चलचित्रमा देखाउन सक्नु रोचक हो । ‘तेल भिसा’ को कथा पनि साधारण छ । एउटी आमाले विदेशी भूमिमा कानुन नबुझ्दा भोग्नु परेको पीडाको कथा हो ‘तेल भिसा’ ।
गौरव अधिकारी (विपिन कार्की) र वन्दना अधिकारी (वर्षा राउत) अमेरिकामा सरल दाम्पत्य जीवन बिताइरहेका छन् । दुवै पहिलो सन्तानको प्रतीक्षामा छन् । गौरव आफ्नो सन्तान स्याहार्न बुवाआमा सूर्यबहादुर (विपिन कार्की) र राधा (पूजा चन्द) लाई अमेरिका आउन आग्रह गर्छन् । दुवै भिसा लगाएर उड्ने तयारीमा छन् तर अचानक उड्ने अघिल्लो रात सूर्यबहादुरको पासपोर्टमा मुसाले आफ्नो राज जमाउँछ र सूर्यबहादुरलाई एयरपोर्टबाट फर्कनुपर्ने हुन्छ । राधा एक्लै अमेरिका उड्छिन् । हल्का अङ्ग्रेजी शब्द सिकेर राधा अमेरिका त पुग्छिन् तर त्यहाँको रहनसहनसँग राधा भिज्न सक्दिनन् । केही काम ग¥यो कि बुहारीले बिचमा टोक्ने काम गरिहाल्छिन् । राधा यी सबै कुरा सुने नसुने गरेर बस्छिन् । यसैबिच वन्दनाको ‘बेबी सावर’ समारोहमा राधाको हातबाट नजानेर वा भनौँ नबुझेर ‘जेन्डर रिभिल’ गर्ने बेलुन फुट्छ । वन्दनालाई यो कुरा मन पर्दैन र उनले सासूलाई अनेक कुरा सुनाउँछिन् । यसलाई पनि छोरा गौरवले जसोतसो साम्य बनाउँछन् । कथा यतिमा मात्र सीमित छैन । चलचित्रको कथामा ट्विस्ट तब आउँछ जब राधाले अमेरिकाको कानुन नबुझेर गरेको गल्तीले जेलमा जाकिनु पर्छ । नातिसँग रमाउँदै दिनचर्या बिताइरहेकी राधालाई आखिर किन अमेरिकी प्रहरीले पक्राउ गर्छ । राधा पक्राउ पर्नुको कारण के हो ? उनलाई हिरासतमुक्त गराउन गौरव दम्पतीले के कस्तो हतकन्डा अपनाउँछन् । यता नेपालमै रहेका सूर्यबहादुर आफ्नी श्रीमती बचाउनका निम्ति अमेरिका जान्छन् या जाँदैनन् ।
चलचित्रको बलियो पक्ष भनेकै यसको कथा र छायाङ्कन हो । चलचित्रको कथाले राम्रो लय समातेको छ । कथा कसरी बगेको छ भने चलचित्रले दर्शकलाई साढे दुई घण्टा हलमा बस्न बाध्य बनाउँछ । दोहोरो भूमिकामा देखिनुभएका कलाकार विपिन कार्कीको चरित्र र बोल्ने शैली जमेको छ । उहाँलाई बुढ्यौली र युवाको चरित्र सुहाएको छ । बुहारीको भूमिकामा नायिका वर्षा राउत जम्नुभएको छ ।
चलचित्रको अर्को बलियो पक्ष भनेको नायिका ऋचा घिमिरेको अभिनय हो । अमेरिकी वकिल बन्नुभएकी ऋचाको भूमिका वास्तवमै प्रशंसायोग्य छ । धेरै पछिको अन्तरालमा अभिनयमा फर्किनुभएकी अभिनेत्री पूजा चन्दले आफ्नो भूमिकालाई न्याय गर्नुभएको छ । चन्दको अभिनयले दर्शकको आँखा रसाउन सक्छ । यति हुँदाहुँदै पनि चलचित्रमा खट्किएको भनेको यसको सङ्गीत हो । चलचित्रमा अनावश्यक रूपमा ‘ब्याकग्राउन्ड म्युजिक’ राखिएको हो कि जस्तो लाग्छ । निर्देशक शङ््कर घिमिरेले कथासँगै गीतसङ्गीत मा पनि ध्यान दिएको भए चलचित्र झन् बेजोड बन्थ्यो कि ?