अन्तर्राष्ट्रिय चलचित्र मेला, महोत्सवमा नेपाली चलचित्रले प्रतिस्पर्धा र सहभागिता गर्ने क्रम बढ्दो छ । त्यसो त नेपालमै समेत काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल र नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल, ह्युम्यान राइट्स फिल्म फेस्टिभललगायत चलचित्र प्रवर्धनसम्बन्धी महोत्सव हुने गरेका छन् ।
चलचित्र निर्माता र चलचित्र प्रदर्शक (हल मालिक) बिचको हिसाबकिताब विवाद नयाँ होइन । निर्माता र हल सञ्चालकबिच चलचित्र प्रदर्शनको विषयलाई लिएर गए वर्ष ठुलै विवाद चलेको थियो । नेपाली चलचित्रलाई पर्याप्त ‘सो’ नदिने आरोप हल मालिकमाथि निर्माताले लगाउँदै आएका थिए । हल सञ्चालकले नेपाली चलचित्रले हलको भाडासम्म उठ्नुपर्ने जिकिर गर्ने गर्थे तर अहिले यो विवाद साम्य भएको छ । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच ५०÷५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति भएपछि यो विवाद टुङ्गिएको हो । हिसाबकिताबको यो विवाद टुङ्गिएपछि काठमाडौँका हलमा दर्शक सङ्ख्या बढ्न थालेका छन् । चलचित्रको व्यापार लयमा फर्किन थालेको हल सञ्चालक बताउँछन् । ‘मल्टिप्लेक्स’ र ‘डिजिटल’ ले गर्दा पनि अहिले हलमा दर्शक बढ्न थालेका हल सञ्चालकको भनाइ छ ।
नेपाली लोकगीत तथा सङ्गीतको परम्परा निकै पुरानो छ । तथापि आधुनिक गीतसङ्गीत परम्परामा नेपालको लामो इतिहास छैन । नेपाली सङ्गीतको व्यावसायिक विकासमा सङ्गीत शिक्षाको महत्वपूर्ण भूमिका हुने भए पनि नेपालमा सङ्गीत शिक्षाले फड्को मार्न सकेको छैन । कुनै पनि गीत राम्रो हुनमा शब्द र स्वरको जति ठुलो भूमिका हुन्छ, त्यति नै महत्व सङ्गीतको हुन्छ । नेपाली सङ्गीतको विशेषता आफ्नै मौलिकता हो । नेपाली सङ्गीतमा लोकसङ्गीतको प्रभाव ज्यादा छ । पछिल्लो समयमा सङ्गीतको अध्ययनभन्दा पनि रहरैरहरमा सङ्गीत क्षेत्रमा आउने क्रम बढ्दो पाइन्छ । केही सङ्गीतकर्मीले व्यावसायिक रूपमा आफूलाई अघि बढाउन खोजेका पनि छन् । कोरोनापछि सङ्गीत सिकाइने विद्यालय बढे पनि सङ्गीत सिक्न आउने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको सङ्गीत विद्यालय सञ्चालक बताउँछन् ।
साहित्यकार उपेन्द्र सुब्बालाई पहिलो चलचित्र ‘जारी’ ले निर्देशकका रूपमा स्थापित बनायो । अब ‘मनसरा’ ले पनि सुब्बालाई त्यो ‘हाइप’ सम्म पुर्याउन कत्तिको सफल हुन्छ त्यो हेर्न बाँकी छ । जारी जस्तै चलचित्र मनसराको सशक्त पक्ष यसको संवाद हो । जारीमा पात्र नामसाङ पोइल गएकी स्वास्नी फिर्ता ल्याउँदा पनि ‘नामर्द’ ठहरिएको थियो भने मनसरामा रिसाएकी स्वास्नी फकाउन नजान्ने र स्वास्नीमाथि सौता हाल्ने ‘नामर्द’ ठहरिएको छ ।
निर्देशक तथा निर्माता सञ्जय लीला भन्सालीको चलचित्र ‘गङ्गुबाई काठियावाडी’ को कथा मुम्बईको वेश्यावृत्ति बजारमा आधारित थियो । यस पटक त्यही कथा लाहोरसम्म आइपुगेको छ । यो कथा हो ‘हिरामान्डी’ अर्थात् ‘द डायमन्ड मार्केट’ ।
नेपाली बजारमा हिन्दी चलचित्रको दबदबा दुई/तीन वर्षअघिसम्म ज्यादै थियो । बलिउडमा सार्वजनिक भएको केही दिनमा नेपाली बजारमा ती चलचित्र आइपुग्थे । नेपाली दर्शकमा समेत नेपाली चलचित्रभन्दा हिन्दी र अङ्ग्रेजी चलचित्रको प्रतीक्षा ज्यादा हुने गरेको थियो । तराईदेखि पहाडका चलचित्र घरमा हिन्दी चलचित्रकै बोलवाला थियो । नेपाली चलचित्रभन्दा हिन्दी र अङ्ग्रेजी चलचित्रले अर्थ सङ्कलनसमेत राम्रै गर्ने हुनाले हल मालिक पनि नेपालीभन्दा अन्य भाषाकै चलचित्र लगाउन तयार हुन्थे । चलचित्र विकास बोर्डको प्रमुख आयस्रोत नै हिन्दी र अङ्ग्रेजी चलचित्रबाट विकास शुल्कका नाममा प्राप्त हुने रकम हुने गरेको छ । अहिले परिस्थिति फेरिएको छ । यो वर्ष बलिउड चलचित्र प्रदर्शनका लागि नेपाल गलत गन्तव्य साबित भएको छ । यो महिना नेपाली चलचित्र घरमा त्यस्तो कुनै पनि नाम चलेका बलिउड चलचित्र प्रदर्शनमा आएको छैन ।
नेपाली समाजमा ‘बोक्सी’ को विश्वासले ग्रामीण समाजमा जरा गाडेको छ । यसै विषयवस्तुमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गरिएको छ । रङ्गकर्मी सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ नाटकलाई चलचित्र रूपान्तरण गरिएको हो । पुरुषप्रधान समाजले ‘बोक्सी’ का नाममा महिलामाथि गरिएको दमनको कथालाई चलचित्रमा पस्कन खोजिएको छ ।
नेपाली साहित्यका सयौँ पुस्तक बर्सेनि बजारमा आउँछन् तर त्यसमा महिलाले लेखेका पुस्तकको सङ्ख्या कति ? यसरी हेर्दा, महिलाले लेखेका पुस्तकको सङ्ख्या निकै कम देखिन्छ । नेपाली साहित्यमा विष्णुकुमारी वाइबा (पारिजात) पछि सशक्त महिला साहित्यकारको उदय हुन नसकेको गुनासो साहित्यकारको छ । २०१३ सालदेखि प्रदान गर्न थालिएको मदन पुरस्कारको पुरस्कृत सूचीमा पारिजातको शिरिषको फूलले २०२२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । २०१३ सालदेखि २०७९ सम्मको मदन पुरस्कार (२०३१ र ३३ सालमा वितरण नगरिएको) को सूचीमा महिला साहित्यकार चार जनाले मदन पुरस्कार प्राप्त गर्नुभएको छ । यो तथ्यले समेत महिला लेखकको अवस्था र स्तरलाई नियाल्न सहयोग गर्छ । मदन पुरस्कार गुठीका अनुसार झमक घिमिरेको ‘जीवन काँडाकी फूल (२०६७)’, राधा पौडेलको ‘खलङ्गामा हमला (२०७०)’ र नीलम कार्की ‘निहारिका’ को ‘योगमाया (२०७४)’ ले मदन पुरस्कार प्राप्त गरेको थियो ।
राजधानीमा रहेका नाटकघरमा दिनहुँजसो नाटक मञ्चन हुने गरेको छ । नाटकका दर्शक सीमित भए पनि नियमित रूपमा नाटक मञ्चन हुनु नाटक पारखीका लागि खुसी विषय हो । नियमित नाटक मञ्चनले रङ्गकर्मीमा उत्साह र जाँगर थपिएको छ । थिएटरमा नाटक हेर्न दर्शक आऊन्÷नआऊन् नयाँ नाटकको अभ्यास र प्रदर्शन भने चलिरहेको छ । यो क्रम काठमाडौँमा मात्र सीमित नभएर काठमाडौँबाहिरका नाटकघरमा समेत चलिरहेको छ ।
चित्रकला विधालाई विश्वभाषा मानिन्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै भाषा आवश्यकता पर्दैन । चित्रकला त्यो विधा हो; जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ । चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङको माध्यमबाट क्यानभासमा उतार्ने काम चित्रकारले गर्छन् । परिकल्पनालाई क्यानसभामा चित्रण गरी विश्वसमाजलाई थप चिन्तनशील बनाइदिने कार्य कलाकारले नै गरिरहेका हुन्छन् । राफेल, भेनगाग, डाली, पिसारो, लियोनार्दो दा भिन्ची, पाब्लो पिकासो, मोने, माने, दोमियर, कुर्बे, कान्दस्की, विलियम डी कनिङ, ज्याक्सन पोलकलगायत सयौँ कलाकारले विश्वकलाको विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
चलचित्रमा नवप्रवेशीको सङ्ख्या बढ्दै गइरहेका बेला पुराना स्थापित कलाकार भने चलचित्र क्षेत्रबाट टाढा हुन थालेका छन् । पुराना कलाकारको चलचित्रमा उपस्थिति निकै पातलो देखिन थालेको छ । दशकअघिसम्म नायक निखिल उप्रेतीको फोटो पोस्टरमा आए मात्र पनि चलचित्र चल्ने पक्कापक्की जस्तै हुन्थ्यो । चलचित्र निर्देशकहरूले ‘एक्सन’ चलचित्रका लागि निखिलकै नाम पहिला लिने गर्थे तर पछिल्ला दिनमा निखिल यो क्षेत्रबाट गुमनाम जस्तै छन् ।
मौलिक गीत/सङ्गीतमा छुट्टै मिठास छ । घण्टौँ घोत्लिएर सबैलाई मन्त्रमुग्ध बनाउन खपिस हुनुहुन्छ नारदमणि हार्तम्छाली । भित्री मनमा मौलिक बाजा संरक्षणको हुटहुटी छ । कलाका सबैजसो विधामा उत्तिकै रमाएका भेटिनुहुन्छ हार्तम्छाली । सङ्गीतले भूगोल चिनाउनु पर्छ भन्नेमा उहाँ विश्वास गर्नुहुन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छाली विभिन्न प्रतिभाका धनी हुनुहुन्छ । मूर्तिकारका रूपमा पहिचान बनाउनुभएका उहाँले ललितकला क्याम्पसबाट कलामा स्नातक र त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हालसम्म खासै चल्न सकेका छैनन् । गुरुङले निर्देशन गरेका चलचित्रको प्रचारप्रसार खुब गरिन्छ तर जब चलचित्र हलमा चल्ने बेला आउँदा दर्शक नपाउने समस्या सिर्जना हुन्छ । यद्यपि गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी’ ले सोचेभन्दा राम्रो व्यापार गरेको थियो । यसपछि यसैको दोस्रो र तेस्रो भागले खासै दर्शकको ध्यान खिच्न सकेन । चौथो भाग ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा निर्देशक गुरुङको निर्देशकीय पक्ष धेरै नै खस्किसकेको थियो ।
नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले मनाइन्छ । विगतका दिनमा भएका हानिनोक्सानी तथा राम्रा नराम्रा घटनाक्रमको विवेचना गरेर आउँदा दिनमा ती सबै अनुभवलाई पाठका रूपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने सङ्कल्प यही दिनमा गर्ने गरिन्छ । नयाँ वर्षको दिन भनेको नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ कामको सुरुवाती गरिने दिनका रूपमा लिइन्छ ।
पछिल्लो समय समाजलाई जस्ताको तस्तै रङ्गमार्फत उतार्ने तथा सांस्कृतिक आदानप्रदान गर्ने दरिलो माध्यमका रूपमा स्थापित हुँदै गएको छ, चित्रकला । चित्रकारले मनमस्तिष्कले सोच्न नसकेका विषयलाई चित्रमा सुन्दर आकार दिने गर्छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली नेपालमा अहिले चित्रकलाले व्यावसायिक गति लिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले चित्रकला विस्तार भइरहेको छ । विभिन्न क्याफेमा कला प्रदर्शनी हुन्छ । यसबाहेक अपार्टमेन्ट र हाउजिङहरूमा पनि कला सजिन थालेका छन् । यसले कलाको महत्व झन् बढेर गएको छ ।”