• २ माघ २०८१, बुधबार

नेपाली चलचित्रलाई प्राथमिकता

blog

काठमाडौँ, मङ्सिर २७ गते  । काठमाडौँको मौसम चिसिएसँगै नेपाली चलचित्रको व्यापार पनि चिसिन थालेको छ । एक त जाडो मौसम त्यसमाथि नयाँ राम्रा चलचित्र खासै प्रदर्शनमा आएका छैनन् । यो क्रम कहिलेसम्म जारी रहनेबारे न कलाकार न निर्माता प्रस्टसम्म भन्न सक्छन् । दसैँतिहारको छेकोमा नेपाली चलचित्रले उल्लेखीय व्यापार गरेको थियो । ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’  ‘ज्वाईं साब’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा मात्र सफल भएनन्, दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाए । त्यसअघि ‘बेहुली फ्रम मेघौली’ ले पनि दर्शकको राम्रो साथ पाएको थियो । चाडपर्वमा बिदाको फाइदा उठाउँदै धेरै चलचित्र लगानी उठाउन सफल भएका पनि थिए तर, अहिले जाडो मौसमले गर्दा हलमा दर्शकको भिड कम देखिन थालेको छ । जाडो मौसम सुरु भएपछि आशा गरे अनुसारका चलचित्र पनि खासै प्रदर्शन भएका छैनन् । जसकारण नेपाली हलमा विदेशी चलचित्रले फेरि आफ्नो प्रभुत्व जमाउँदैनन् भन्न सकिन्न । 

चलचित्रको कथा राम्रो भयो भने हलमा दर्शकको चाप त्यसै बढ्ने रञ्जना सिनेप्लेक्सका प्रबन्धक शशाङमान सिंह बताउनुहुन्छ । उहाँका अनुसार चलचित्रको प्राविधिक पक्षले पनि दर्शक हलमा आउने नआउने कुराको टुङ्गो लगाउँछ ।  एलडब्लु साउन्ड सिस्टम जडान गरिएको रञ्जनालाई स्तरीय बनाउन फोरके प्रोजेक्सन राखिएको उहाँको भनाइ थियो । थ्रिडी चलचित्रका पारखीलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि जडान गरिएको छ, उहाँको भनाइ छ । अहिले हलमा विदेशीभन्दा नेपाली चलचित्रलाई धेरै प्राथमिकता दिन थालिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ मौसम अनुसार चलचित्र चल्छ भन्ने कुराले कुनै तुक राख्दैन । दर्शक हलमा ओइरिने चलचित्रको कथा र कलाकारको अभिनयले नै हो ।” 

विश्वज्योती सिनेप्लेक्सका निर्देशक रोहन सिं हलमा नेपाली चलचित्र प्रदर्शन गर्दा बेग्लै माहोल बन्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दर्शकको चाप बढेको देख्दा नेपाली चलचित्र मात्र प्रदर्शन गरौँ गरौँ लाग्छ ।” दुई/तीन महिनाबाट हल सञ्चालकलाई पनि दसैँ नै आएको जस्तो भएको उहाँको भनाइ छ । चलचित्र चल्यो भने हल चल्ने हो । चलचित्रमा दर्शक नै हुनुभएन भने हामीलाई पनि हल सञ्चालन गर्न धेरै गाह्रो हुन्छ, उहाँले थप्नुभयो । 

 कुनैबेला हलमा दुईदेखि पाँच जना दर्शकलाई पनि चलचित्र देखाउन पर्ने अवस्था थियो तर अहिले त्यो हटेको छ, जुन हलवालाहरूका लागि धेरै राम्रो हो । अहिले राम्रा राम्रा ब्रान्डका प्रविधि जडित थिएटर छन् त्यसैले पनि धेरै प्रतिस्पर्धा बढेको छ । पहिले चलचित्र पालो कुरेर देखाउनु पर्थ्यो तर अहिले त्यो हटेको छ । अहिले चलचित्र र हलवालाले बराबर प्रतिशतमा काम गर्छन् । अहिले हलले ५० प्रतिशत र चलचित्रले ५० प्रतिशत दिने चलन छ । 

वान सिनेमाज्का महाप्रबन्धक उमेशराज गिरीको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार चलचित्रसँगै हलको प्राविधिक पक्षमा पनि दर्शको ध्यान जान थालेको छ । दर्शक अहिले धेरै छनोट भएका छन् । चलचित्र चल्नका लागि जाडो र गर्मीले खासै फरक नपर्ने उहाँले बताउनुभयो । हल र चलचित्रबिच ५०–५० प्रतिशतमा सहमति हुने उहाँको भनाइ थियो । उहाँका अनुसार हलमा सुरुबाट नै बक्स अफिस लागु छ । पहिलो हप्ता नेपाली र विदेशी चलचित्रलाई ५० प्रतिशत र विदेशीलाई पहिलो हप्ता पनि ४२ प्रतिशत र त्यसपछि ३५ प्रतिशत दिने गरेको उहाँको भनाइ थियो ।