• २० कात्तिक २०८१, मङ्गलबार

कमजोर कथा, दमदार एक्सन ‘सिङ्घम अगेन’

blog

काठमाडौँ, कात्तिक २० गते । निर्देशक रोहित सेट्टी र अजय देवगनको जोडीले फेरि चलचित्र ‘सिङ्घम अगेन’ मार्फत चर्चा बटुलेको छ । बाजीराव सिङ्घम (अजय देवगन) जो सिङ्घमका अघिल्ला दुई शृङ्खलामा महाराष्ट्र र गोवामा देखिएका थिए भने यस पटक उनी काश्मीर आएका छन् । चलचित्र सूर्यवंशीमा उमर हाफिज (ज्याकी श्राफ) को कथा देखाइएको थियो जहाँ उमरका दुई छोरालाई सूर्यवंशी (अक्षय कुमार), सिङ्घम र सिम्बा (रणवीर सिंह) ले मारेका थिए ।

सिङ्घम अगेनको कथा फेरि उमरलाई समात्न गरिएको सङ्घर्षबाट सुरु हुन्छ । जहाँ उमर लागुऔषध कारोबारमा संलग्न छन् । यति मात्र होइन सिङ्घम अगेनको कथा रामलीलाको स्टेजसँग समानान्तर चल्छ । रामायणका पात्रको भूमिकालाई सिङ्घमसँग सम्बन्धित पात्रसँग जोड्न खोजिएको छ । प्रहरीको फन्दामा रहेका उमर आफू एक्लै नभएको चेतावनी दिन्छन् । 

सिङ्घमकी श्रीमती अवनी (करिना कपुर) सांस्कृतिक विभागमा काम गर्छिन् । रामलीला मञ्चको जिम्मेवारीसँगै उनले रामायणसँग जोडिएको तथ्य पनि तयार पार्ने काम गर्छिन् । यता प्रहरीले उमरका अन्य साथीको खोजी गरिरहेको छ । यसैबिच उमरका अन्य साथी मदुरैमा रहेको जानकारी प्रहरीले पत्ता लगाउँछ । प्रहरी उपरीक्षक शक्ति सेट्टी (दीपिका पादुकोण) ले ती व्यक्तिलाई पक्राउ गर्छिन् त्यसपछि चलचित्र अर्जुन कपुर अर्थात् रावण आगमन हुन्छ ।

चलचित्रमा अनेकन नाटकीय मोड आउँछन् । रावणले अवनीलाई अपहरण गर्छ र उनलाई श्रीलङ्का लैजान्छ । सिङ्घम आफ्नी श्रीमतीलाई रावणबाट कसरी बचाउँछन् । यसमा सिङ्घमसमक्ष के कस्तो बाधा अड्चन आउँछ । चलचित्रको कथा यसरी नै अगाडि बढ्दै जान्छ । अवनीलाई रावणको चङ्गुलबाट मुक्त गर्न सिङ्घमलाई सिम्बा, सूर्यवंशी, सत्य (टाइगर श्राफ) र शक्ति पनि साथ दिन्छन् । 

चलचित्रको सुरुवातमा उमरले सिङ्घमसँग गरेका एक्सन दृश्य पच्ने खालका छैनन् । सिङ्घमको प्रवेश पनि खासै सशक्त छैन । मध्यान्तरसम्म चलचित्रको पक्ष कमजोर छ । पात्रको अभिनय र कथामा खासै मेल देखिँदैन । कलाकारको अभिनय पुरानै ढर्राको छ । अघिल्ला दुई शृङ्खलामा भन्दा यसमा अजय देवगनको अभिनय कमजोर देखिन्छ । करिना कपुर, रणवीर सिंह, टाइगर श्राफ, ज्याकी श्राफको अभिनयमा पनि नयाँपन छैन । अर्जुन कपुर एक आकर्षक खलनायकको भूमिकामा प्रशंसायोग्य छ । दीपिका पादुकोण बिल्कुलै नयाँ खालको भूमिकामा देखिएकी छिन् । लेडी सिङ्घमको भूमिका उनलाई सुहाएको छ । चुलबुल पाण्डेको भूमिकामा सलमान खानलाई देखेर दर्शक आश्चर्यमा पर्न सक्छन् । 

साकेट पटवर्धनले लेखेको कथाले चलचित्र ‘रङ दे वसन्ती’ को सम्झना दिलाउँछ । युनुस सजावल, क्षितिज पटवर्धन, सन्दीप सक्टे, अनुषा नन्दकुमार, अभिजित खुमान र रोहित सेट्टी गरी छ जनाले पटकथा लेखे पनि कथाले खासै लय समाएको देखिँदैन । आफ्ना हरेक चलचित्रमा गाडी हावामा उडाउने, नायकलाई हवाईजहाजबाट भिœयाउने रोहितले केही समय विश्राम लिएर कथामा गहिरिएर काम गर्नुपर्ने देखिन्छ ।