काठमाडौँ, कात्तिक २८ गते । दर्शकलाई बाँध्ने सशक्त चलचित्र बनाउन कुन पक्ष महत्वपूर्ण हुन्छ ? बर्सौंदेखि नेपाली निर्माता/निर्देशकले चलचित्र सफल बनाउन सेलिब्रेटी कलाकार, भव्य सेटको मात्र प्रयोग गरेका छैनन् कतिपयले विदेशीमा छायाङ्कनसमेत गरेका छन् । द्वन्द्व, सङ्गीत र हास्य विधाका चलचित्रले नेपाली दर्शकलाई तानेकै छन् । यसै सेरोफेरोमा सरोज पौडेल निर्देशित चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आएको छ, जुन परम्परागत नेपाली चलचित्रभन्दा फरक छ । यही फरकपनले दर्शकको अपार माया पाइरहेको छ । चलचित्र बुवा र सन्तानको सम्बन्धमा केन्द्रित छ । जहाँ जातीय छुवाछुत, गरिबमाथिको थिचोमिचो जस्ता समाजका अँध्यारा पक्षलाई उधिनिएको छ ।
२०३६, २०४६ र २०६५ सालको कथालाई लेखक तथा निर्देशक पौडेलले चलचित्रमा पस्कनुभएको छ । पूर्णबहादुर (विजय बराल) छोरा कमल (प्रकाश सपुत) लाई पढाउन खोज्छन् तर उनको गच्छेले भ्याउँदैन । त्यसैले उनी छोरालाई आफू जस्तै सारङ्गी रेट्न सिकाउन गाउँ गाउँ डुलाउँछन् । जुन कुरा आमा बाटुली (अञ्जना बराइली) लाई मन परेको हुँदैन । उनी छोरोले अन्य नै पेसा गरोस् भन्ने चाहना राख्छिन् । बाटुलीको सपना त्यति ठुलो पनि छैन । उनलाई आफ्नो श्रीमान्ले अरूको हेपाइ सहेको मन पर्दैन । यी सबै कुरा पूर्णबहादुरले बाटुलीलाई दिन सक्दैनन् साथै उनले भनेको बाटोमा पनि उनी चल्न सक्दैनन् । एकातिर छोरालाई पढाउन नसक्ने र अर्कोतिर श्रीमतीको साधारण चाह पनि पूरा गर्न नसक्ने श्रीमान्सँग कसरी बस्नु भन्दै बाटुली हर्के (विनोद न्यौपाने) सँग जान्छिन् । यसपछि बुवा (देशभक्त खनाल) को मृत्यु र श्रीमतीको बिछोडको घटनाक्रमले पूर्णबहादुरमा ठुलो परिवर्तन आउँछ । उनमा छोरालाई पढाउनु पर्छ भन्ने इख जाग्छ । छोरालाई पढाउन पूर्णबहादुरले गरेको सङ्घर्ष र उनीमाथि आउने अनेकन बाधाअडचन नै ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा हो ।
चलचित्रमा प्रेम बिछोडको कथा छ, शोषणका कुरा छन् । तीन साथीबिचको मित्रता छ । मूल पात्र पूर्णबहादुर र उनको ध्यान सारङ्गीमा केन्द्रित भए पनि चलचित्रको कथा पूरै गन्धर्व समुदायमा मात्र सीमित छैन । चलचित्रमा सानातिना कमजोरी अवश्य नै झल्किन्छन् । चलचित्रको कथा नौलो होइन तर कलाकारले गरेको अभिनयले भने चलचित्र माथि उकास्ने काम गर्छ । सधैँ दयाहाङ राईसँग सहायक भूमिकामा देखिने विजयको मुख्य भूमिका रहेको यो पहिलो चलचित्र हो । ‘पूर्णबहादुरको सारङ्गी’ मा विजयले निर्वाह गरेको पात्र ‘पूर्णबहादुर’ ले उहाँलाई दर्शकमाझ स्थापित गराएको छ । विजय चलचित्रमा युवा, अधबैँसे र वृद्धको तीन अवस्थाको भूमिकामा देखिनुभएको छ । जसले उहाँलाई आफ्नो अभिनय क्षमता देखाउन थप सहयोग गरेको छ । चलचित्रको सबैभन्दा बलियो पक्ष भनेकै विजयको अभिनय हो । चलचित्र चलाउने ‘मेसिन’ नै विजय हुनुहुन्छ ।
विजयको साथी भूमिकामा देखिनुभएका गन्धर्व (मुकुन भुसाल) र भारी बोकेर गुजारा चलाउने ढाक्रे (बुद्धि तामाङ) को अभिनय पनि तारिफयोग्य छ । चलचित्रमा विजयपछि मुख्य भूमिका मुकुनकै छ । सुरुदेखि अन्त्यसम्म उहाँले निभाएको साथीको भूमिका प्रशंसनीय छ । हरेक चलचित्रमा उस्तै उस्तै भूमिकामा देखिने बुद्धि तामाङले यस पटक भने आफ्नो ‘हैट’ को थेगोलाई प्रयोग गर्नुभएको छैन । बाटुलीको भूमिकामा निर्देशक पौडेल प्रस्ट देखिनुभएको छैन । उनको भूमिकालाई बिचमै खुम्च्याइएको छ । प्रकाश सपुतको अभिनय औसत छ भने बाल कलाकार स्वयम् केसीको अभिनयले अवश्य नै दर्शकको मन जित्छ । भोलाराज सापकोटा, माओत्से गुरुङ, देशभक्त खनाल, शङ्कर आचार्यले आआफ्नो चरित्रमा न्याय गर्नुभएको छ । चलचित्रको गीतसङ्गीतले दर्शकलाई अवश्य भावुक बनाउँछ । सारङ्गीको धुन निकै मिठो सुनिए पनि गन्धर्वले गाउने गीतमा मौलिकपन खड्किएको आभास हुन्छ ।
लेखक तथा निर्देशक पौडेल पात्र, कथा र तिनका प्रवृत्तिमार्फत चलचित्रप्रति अपनत्वबोध गराउन धेरै हदसम्म सफल हुनुभएको छ । मूल पात्रका मनोविज्ञान र केही घटनाक्रममा लेखकमा अस्पष्टता र अपरिपक्वता नझल्कने होइन तर अभिनेता बरालको उपस्थितिले चलचित्रलाई प्रभावशाली बनाउन ठुलै भूमिका खेलेको छ । मौलिक कथा र कथावाचनलाई आत्मसात् गरेकाले चलचित्र सम्झनलायक बनेको छ । निर्देशक पौडेलले संवेदनशील विषयमाथि सार्थक चलचित्र बनाउने प्रयत्न गर्नुभएको छ तर सोही अनुपातको निपुणता चाहिँ अझै झल्किएको छैन । हाम्रै समाजको यथार्थलाई सिर्जनात्मक ढङ्गले पस्केकाले केही कमजोरीसहित लेखक पौडेल प्रशंसाका हकदार भने अवश्य बन्नु भएको छ ।