काठमाडौँ, मङ्सिर ७ गते । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उहाँले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । । उहाँले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताउनुभयो । उक्त पार्टीका अगुवा नेता रहेका डा. भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्व मन्त्री राम कार्कीले चुनाव हुँदा वा नहुँदा पनि नवगठित पार्टीको अभियान चलिरहने बताउनुभयो । शिक्षा, यातायात, कृषिलगायत सबै नीतिलाई नयाँ दलले परिवर्तन गर्न चाहेको पनि उहाँले सुनाउनुभयो ।
नेता कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिनुभयो । मार्क्सिज्म भनेको आफैँप्रति आलोचक हुनु हो भन्दै उहाँले यस्तो गुण नहुनेहरू मार्क्सवादी हुन नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सुनाउनुभएको थियो । प्रतिबद्धता पत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको उहाँले जानकारी गराउनुभयो ।
पूर्व मन्त्री सुदन किरातीले आफ्नो दलले कम्युनिस्ट पार्टीको खोल छोडेर गुदी बोकेर आएको बताउनुभयो । देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने उहाँको भनाइ थियो ।
पार्टी घोषणा सभाको अध्यक्षता गर्नुभएका नेता सन्तोष परियारले दलले नयाँ गतिका साथ काम गर्न चाहनेलाई समेटेर अघि बढ्ने बताउनुभयो।