लमजुङ समाचारदाता
लमजुङ, वैशाख २७ गते । बेँसीसहर नगरपालिका अन्तर्गत उदीपुर देउरालीडाँडामा पाँच वर्षअघि गएको पहिरो नियन्त्रणको काम सम्पन्न हुन थालेको छ ।
डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर देउरालीडाँडाको पहिरो रोकथामको काम ९८ प्रतिशत सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामको काममध्ये चार सय मिटर जति नालीका लागि पाइप बिछ्याउने काममध्ये डेढ सय मिटर जति मात्रै बाँकी रहेको र अन्य सबै काम सम्पन्न भइसकेको छ । टेवा पर्खाल, ग्याबिन जाली लगाउनेलगायतका निर्माणको काम सम्पन्न भएको छ ।
पहिरो रोकथामका लागि मस्र्याङ्दी नदी किनारमा पर्खाल निर्माण, सो स्थानबाट ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । करिब तीन सय मिटर सडक कालोपत्रे र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गरिएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारको ११ करोड १९ लाख रुपियाँ बजेटमा सो काम गरिएको हो । २०७९ चैत १० गते सम्झौता गर्दा २०८१ पुस महिनासम्ममा सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै २०८२ असोज महिनासम्म थप गरेकोमा सो अवधिमा पनि काम सम्पन्न नभएपछि अन्तिम पटक यही वैशाखसम्म सक्ने गरी म्याद थपिएको थियो ।
अब तोकिएको समयमै काम सम्पन्न हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो । पहिरोमाथि रहेको स्थानीय सडक भासिएर ढुङ्गा, माटो, गेगर झरेर काम गर्न समस्या हुनुका साथै मस्र्याङ्दी नदीमा पानीको बहाबलगायत विविध कारणले गर्दा निर्माणको काम लम्बिएको दाबी गरिएको छ । यस स्थानमा २०७८ असार १ गते र २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिट्ठेबगर हुँदै उदीपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालनमा ल्याइएको थियो ।
तनहुँको डुम्रे बजारबाट लमजुङ सदरमुकाम बेँसीसहरसम्म ४२ किलोमिटर रहेको यो सडकको निर्माण २०२९ सालबाट सुरु भएर २०५२ मा सिङ्गल लेनको कालोपत्रे भएको थियो । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहरका साथै हिमाली जिल्ला मनाङ जाने यात्रु यात्रा गर्ने गर्छन् ।