काठमाडौँ, वैशाख २७ गते । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ ।
यो विशेष वनस्पति कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ । यही महत्त्वलाई ध्यानमा राख्दै विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूले यस क्षेत्रलाई विशेष मान्यता तथा संरक्षण प्रदान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९८ मा आर्गान उत्पादन हुने स्थानीय क्षेत्रलाई ‘आर्गानेराइ बायोस्फियर रिजर्भ’का रूपमा घोषणा गरेको थियो । त्यसैगरी, आर्गान रूखसँग सम्बन्धित परम्परागत ज्ञान, सिप र संस्कृतिलाई सन् २०१४ मा युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो ।
यसैबिच, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २०१८ डिसेम्बरमा मोरक्कोको ऐत सुआब–ऐत मनसुर क्षेत्रमा रहेको आर्गान–आधारित कृषि, वन तथा पशुपालन प्रणालीलाई विश्वका महत्त्वपूर्ण कृषि सम्पदा प्रणालीका रूपमा मान्यता दिएको थियो ।
त्यसपछि सन् २०२१ मा राष्ट्रसङ्घीय महासभाले मे १० लाई अन्तर्राष्ट्रिय आर्गानिया दिवसका रूपमा घोषणा गरेको हो । मोरक्कोद्वारा प्रस्तुत उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका ११३ सदस्य राष्ट्रले स्वीकार गरेका थिए । यो स्वीकृतिसँगै मोरक्कोको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
आर्गान मुख्यतः मोरक्कोमा पाइन्छन् । यसबाट उत्पादन हुने आर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । साथै, आर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रासस