• ७ मंसिर २०८२, आइतबार

विद्यार्थीले सम्झिए ‘न्वागी पर्व’

blog

वक्तृत्वकलाका विजयीलाई पुरस्कार वितरण गरिदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मंसिर ७ गते । ‘न्वागी’ माटो, कृषि र पशुपालनसँग जोडिएको एक पर्व हो । पछिल्लो आधुनिक र डिजिटल दुनियाँमा छुट्टै पहिचान बनाएको बागलुङ पश्चिमकै ठुलो मेला ‘न्वागी पर्व’ मा लाग्ने गर्छ । 

न्वागी मेलाको मञ्चमा युवा (जेनजी) विद्यार्थीले १७ औं शताब्दीको न्वागीको इतिहास खोतलेका छन् । कहिंकतै लेखिए, बोलिएका, आफुले सुनेका कुरा मञ्चबाट सुनाएका छन् । अलिकति गुनासो पनि पोख्नुभयो ।

‘पौंदी न्वागी मेला तथा संस्कृति संरक्षणमा नयाँ पुस्ताको भूमिका’ विषयमा आयोजना गरिएको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी ११ विद्यालयका विद्यार्थीले विशेषगरी ‘न्वागी पर्व’ को मौलिकता बचाउन र पुस्तान्तरणमा जोड दिए ।

उनीहरुले व्यवसायिक बनेको ‘न्वागी मेला’ मा मौलिकता हराउँदै गएको तथा आधुनिक प्रविधिले बढाएको मेलाको चर्चा कायम राख्ने चुनौती पनि बढेको चर्चा गरे । पुस्तान्तरण र युवा पिंढीलाई अवसर दिनुपर्ने बताएको उनीहरुले स्थानीय उत्पादन, कला, संस्कृतिको संरक्षण संगसंगै व्यवसायलाई प्राथमिकता राख्नुपर्ने तर्क गरेका छन् । 

नवीनतम् प्रविधिको प्रयोगले डिजिटलाइज गरेको मेलाका पुराना दस्तावेज लिपिबद्ध र सुरक्षित हुनुपर्नेमा उनीहरुको जोड थियो । समयको मागसँगै खर्चिलो बन्दैगएको मेला संरक्षण र निरन्तरताको लागि रोजगार, आर्थिक समृद्धि र स्थानीयको आयआर्जनसँग जोड्नुपर्ने विद्याथीको आयोजकलाई सुझाव थियो । 

“न्वागी मेला मात्रै हैन । न्वागीको इतिहास, महत्व, उपलब्धीहरु लिपिबद्ध हुनुपर्छ । युवा पस्तालाई जोड्नुपर्छ । मेला हस्तान्तण हुँदा इतिहास र दस्तावेज हराउनु हुँदैन’’ विद्यार्थीले भन्नुभयो, “नयाँ पुस्ताको सिप, कला र क्षमता, पुरानाको ज्ञान, अनुभव र मौलिकतासँगै मेला सञ्चालन गर्दा पुराना र नयाँ, मौलिकता र आधुनिकताको पनि मिलन आवश्यक छ ।”

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले न्वागीको इतिहास र महत्व मात्रै हैन, व्यक्ति व्यक्तिको आम्दानी र देशको समृद्धि कृषि पशुपालनबाटै सम्भाव रहेको बताउनुभयो । न्वागी धान, दही, चिनी, सिलाम, केरा लगायत मिष्ठान एक परिकारको पर्व रहेको बताउँदै वनले भन्नुभयो, “न्वागी खाँदा जसरी पुर्खाको इतिहास बचेको छ । संघीयतापछि जसरी न्वगाीको क्षेत्र बढेको छ । त्यसैगरी स्थानीयको आम्दानी बढाउँदै स्वरोजगार बन्न पनि कृषि र पशुपालन मुख्य र दरिलो आधार हो ।”

मंसिर १ गतेबाट जारी मेलामा सम्पन्न भएको वक्तृत्वकलामा भिमगिठे माविकी अञ्जली केसी प्रथम, भौरव मावि गलकोटका समिर गौतम द्वितीय र त्रिभुवन मावि बडिगाडकी ग्रिष्मा गिरी तृतीय हुनुभएको छ । मेला मंसिर १० गतेसम्म चल्ने छ ।