• ७ मंसिर २०८२, आइतबार

दाङमा थपिए पाँच हजार बढी मतदाता

blog

घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर ७ गते । दाङमा पाँच हजार बढी नयाँ मतदाताले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नाम दर्ता गराएका छन् ।  

जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु भएको गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म पाँच हजार दुईसय ८२ जना नयाँ मतदाता थपिएका हुन् । 

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार पाँच हजार दुईसय ८२ जनामध्ये दुई हजार नौसय १७ जना पुरुष र दुई हजार तीनसय ६५ जना महिला मतदाता थपिएका छन् । थपिएकामध्ये अधिकांश नयाँपुस्ता रहेको बताउनुभयो ।  

सूचना अधिकारी कवँरका अनुसार बाह्य जिल्लाका चारसय २२ जना पुरुष र दुईसय एक जना महिलाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । त्यसैगरी जिल्लामा एक हजार तीन बढी मतदाताले आफ्नो मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निवेदन दिएका छन् । 

कार्यालयका सूचना अधिकारी कवँरका अनुसार तीनसय ९३ पुरुष र छ सय ११ महिला गरेर एक हजार चार जना ठाउँसारीका लागि र एकसय ९२ जना पुरुष र ९१ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निवेदन दिएका छन् । 

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यसअघि जिल्लामा चार लाख १६ हजार सातसय ३५ जना मतदाताको संख्या रहेको थियो । जसमा दुई लाख ११ हजार सात सय १६ जना महिला र दुई लाख पाँच हजार १७ पुरुष र दुई जना अन्य मतदाता रहेका थिए ।