• ७ मंसिर २०८२, आइतबार

पहिरो छल्न राजमार्गमा छानो

blog

राजमार्गमा निर्माण गरिएको ‘रक सेड’ नमुना ।

काठमाडौँ, मङ्सिर ७ गते । मुलुकको सडक पूर्वाधारको इतिहासमा पहिलो पटक सिद्धार्थ राजमार्ग अन्तर्गत ‘रक सेड’ निर्माण गर्न लागिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको दुवै ‘पोर्टल’ सँगै निर्माण हुन लागेको ‘रक सेड’ को डिजाइन तयार भइसकेको छ ।

सवारी र सडकलाई पहिरोबाट सुरक्षित गर्ने प्रविधि हो ‘रक सेड’ । पहिरो जाने स्थानमा सडकमाथि आरसिसी ढलान वा स्टिलको भिरालो आकारको बलियो छाना बनाएर ‘रक सेड’ निर्माण गरिन्छ । यसरी निर्माण गरिएको ‘रक सेड’ मा खसेका पहिरो छाना हुँदै खोला वा भिरमा पुग्छन् । सडकलाई कुनै असर पर्दैन । छानामुनिबाट निर्वाध रूपमा सवारीसाधन आवागमन भइरहन्छ । सिद्धार्थ राजमार्गको सो खण्डमा प्रायः गइरहने पहिरोबाट सवारीसाधन र राजमार्गलाई बचाउन ‘रक सेड’ निर्माण गर्न लागिएको सिद्धबाबा सुरुङमार्ग योजनाका प्रमुख ई. नवराज बाँस्तोलाले जानकारी  दिनुभयो । 

उहाँले सुरुङमार्गको दुवै पोर्टलसँग नै धेरै पहिरो जाने भएकाले सुरुमा पोर्टलसँगै ‘रक सेड’ निर्माण गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार ७८० मिटर लामो ‘रक सेड’ निर्माण हुन लागेको हो । धेरै पहिरो गई बर्सेनि मानवीय क्षति हुँदै आएकाले राजमार्गको यस खण्डलाई ‘मृत्यु मार्ग’ को रूपमा समेत चिनिन्छ । गएको एक दशकमा सिद्धबाबा खण्डमा पहिरो खस्दा ७० जनाको ज्यान गएको तथ्याङ्क छ । सुरुङमार्ग योजना अन्तर्गत नै ‘रक सेड’ हुन लागेको बताउँदै योजना प्रमुख बाँस्तोलाले भन्नुभयो, “रक सेडको डिजाइन तयार भई स्वीकृत समेत भइसकेको छ । सुरुङमार्गको काम सम्पन्न भएसँगै ‘रक सेड’ को निर्माण सुरु हुन्छ । रेखदेख, जनशक्ति र स्रोत साधनका कारण दुवैतिर काम नगरी अहिले सुरुङमार्गको मात्र काम भइरहेको छ ।”

सिद्धबाबा सुरुङमार्ग योजनाका पूर्वप्रमुख ई. कृष्णराज अधिकारीले सिद्धार्थ राजमार्ग अन्तर्गत पहिरो नियन्त्रणका लागि ‘रक सेड’ सँगै पहाडहरूको ‘स्लोप स्टेपलाइजेसन’ गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरोको अति जोखिम भएको ठाउँमा सुरुङमार्ग निर्माण भइरहेको छ । अलि कम जोखिम भएको ठाउँमा ‘स्लोप स्टेपलाइजेसन’ गर्न लागिएको हो । त्यसै गरी माथिबाट झर्ने ससाना ढुङ्गालाई रोक्न ‘रक ब्यारियर’ निर्माण गर्न लागिएको हो । माथिबाट झर्ने ढुङ्गालाई रोक्न जाली लगाएर ‘रक ब्यारियर’ निर्माण गरिन्छ । यस प्रविधिको माध्यमबाट ढुङ्गा सिधै सवारीसाधन, व्यक्तिमाथि वा सडकमा झर्न सक्दैन ।”

योजना प्रमुख ई. बाँस्तोलाले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा उक्त ‘रक सेड’ निर्माण हुन लागेको जानकारी दिनुभयो । यस मोडेल अनुसार निर्माण छनोट भएका कम्पनीले ‘रक सेड’ को निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफैँले गर्नुपर्ने हुन्छ । यस्तो मोडलमा निर्माण कम्पनीले डिजाइन, खरिददेखि कन्स्ट्रक्सनसम्मको काम आफैँले गर्नुपर्ने हुन्छ ।  

यस्तो बन्दै छ सुरुङमार्ग

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोलानजिकै छ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर छ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’ मा भइरहेको आयोजना प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग निर्माण भइरहेको छ । 

सिद्धबाबा सडक तराईबाट पश्चिम पहाड जोड्ने मुख्य मार्ग हो । यहाँबाट गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङलगायत जिल्ला पुग्न सकिन्छ । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङमार्ग र रक सेड निर्माणको काम सम्पन्नपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना सात अर्ब ३४ करोड रुपियाँ लागतमा निर्माण हुँदै छ ।