• ३० फागुन २०८२, शनिबार

गोदाममा मौज्दात मल तत्काल वितरण गर्ने निर्णय

blog

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको सरोकारवालाहरूको बैठक । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, फागुन ३० गते ।
पश्चिम नवलपरासी जिल्लामा लामो समयदेखि देखिँदै आएको रासायनिक मलखाद्यको समस्या समाधानका लागि विशेष तत्परता देखाइएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको सरोकारवालाहरूको बैठकले कृषि सामग्री कम्पनीको गोदाममा मौज्दात रहेको मल यथाशीघ्र किसानलाई वितरण गर्ने निर्णय गरेको हो ।

नवलपरासी क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताको  पहलमा यो प्रक्रिया अघि बढेको हो। सांसद गुप्ताले केही दिनअघि मात्रै कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला कार्यालयमा पुगेर मलको भण्डारण र वितरण प्रणालीको स्थलगत अनुगमन गर्नुभएको थियो ।

बैठकमा सांसद गुप्ताले भन्नुभयो, “एकातिर माग अनुसार मलको आपूर्ति कम छ, अर्कोतिर आएको मल पनि वितरण प्रणालीको ढिलाइले गोदाममै थन्किनु दुखद हो। किसानले मल नपाएर सास्ती भोगिरहेको अवस्थामा अब गोदाममा भएको मल एक दिन पनि नरोकी तत्काल किसानको हातसम्म पुर्‍याउनुपर्छ।’’

बैठकमा सहभागी स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले हालको वितरण प्रणालीमा सुधारको माग गरेका छन्। सहकारीमार्फत मल वितरण गर्दा कतिपय सहकारीले समयमै मल नउठाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै कम्पनीले सिधै किसानलाई बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने वा गाउँ–गाउँमा डिपो (वितरण केन्द्र) स्थापना गर्नुपर्नेमा जोड दिइएको छ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जिल्लामा मलखाद्यको अभाव हुन नदिने र वितरण प्रणालीलाई थप पारदर्शी बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

बफर स्टकको दुरुपयोगप्रति चासो छलफलका क्रममा १० प्रतिशत ’बफर’ स्टकमा राखिने मलको दुरुपयोग भइरहेको विषयमा गम्भीर प्रश्न उठाइएको छ। प्रदेश सरकार र पहुँचवालाहरूको दबाबमा निजी बीउ बिजन कम्पनीहरूले अनुदानको मल हात पारेर लाभ लिइरहेको तर वास्तविक किसानले राहत नपाएको आरोप लागेको छ।