काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् । उम्मेदवारहरुबीच मतान्तर घटाउने र बढाउने क्रम चलिरहेको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट नेपाली कांग्रेसका वसीउद्दीन खाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पराजित पार्दै खाँ विजयी हुनुभएको हो ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनामा धनुषाको चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर–१ बाहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारहरुले मतगणनाको सुरुवाती चरणदेखि अग्रस्थान लिएका हुन् ।
ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले सुरुवाती अग्रता लिनुभएको छ । भर्खरै सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्र) का प्रत्यासी खेलप्रसाद बुडाक्षेत्रीलाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।
सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राख्नुभएको छ । ४० हजार नौ सय ५९ मत गणना हुँदासम्म थानीले १८ हजार ७७८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले १५ हजार ५८८ मत प्राप्त गर्नुभएको छ ।
डाेटी जिल्लाकाे प्रदेश सभा “ख”मा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवातदेखि झिनो मतले उम्मेदवारहरु अगाडि पछाडि देखिनुभएकाे छ।
गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम गर्नुभएको छ । ११ हजार ८२२ मत सहित विष्टले अग्रता बनाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले ९ हजार ६९८ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुपाल्चाेक जिल्लाकाे प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका मोहनबहादुर बस्नेतले मत बढाउँदै लगेका छन् ।
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको करिव ४७ घण्टापछि मङ्गलबार अपराह्न ४ : २० बजेदेखि मतगणना सुरु भएको हो ।
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले १० हजार दुई सय ५५ मत प्राप्त गर्नुभएको छ ।
म्याग्दीमा जारी मतगणनाअनुसार मङ्गलबार दिउँसो साढे ३ बजेसम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ ।
खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले अग्रता बढाउँदै लगेका छन् । हाल प्रतिनिधिसभाको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको मत गणना भइरहेको छ ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क मा नेकपा एमाले का मधुसूदन पौडेलको अग्रता रहेको छ ।
प्युठान निार्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिनुभएको छ ।
सिन्धुली जिल्लाको प्रतिनिधिसभाको दुई वटै निर्बाचन क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेद्वारको सुरुवातदेखि नै अग्रता रहेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा दिउँसो २ बजेसम्म १४ हजार ११७ मतगणना हुदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेद्वार श्यामकुमार घिमिरेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप कटुवाललाई एक हजार ७२१ मतान्तरले अग्रता लिनु भएको छ ।