• ११ मंसिर २०८१, मङ्गलबार

काभ्रेका दुईवटा प्रतिनिधिसभामा माओवादी र काँग्रेस अगाडि

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ७ गते । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवार अग्रस्थानमा छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् । उम्मेदवारहरुबीच मतान्तर घटाउने र बढाउने क्रम चलिरहेको छ । 

जिल्लाको प्रतिनिधि सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ दोङ अग्रस्थानमा नै रहनुभएको छ । उहाँलाई एमालेका उम्मेदवार रेशम लामाले पछ्याइरहनु भएको छ । बुधबार बिहान १० बजेसम्म माओवादी केन्द्रका दोङले चार हजार ९५१ मत, एमालेका लामाले चार हजार ८५० मत प्राप्त गर्नुभएको छ माओवादीका दोङ र एमालेका लामाबीच १०१ मत फरक छ । 

यसैगरी, जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गत बुधबार बिहान १० बजेसम्मको मतगणनामा नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाँईले अग्रता कायम नै राख्नुभएको छ । हालसम्म हुमागाँईले १२ हजार १९१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले ११ हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

हुमागाँई र बाँस्कोटाबीच ५०९ मतको मतान्तर छ । प्रतिनिधि सभा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाँईले चार हजार ४४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

काभ्रे प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) तर्फ नेकपा माओवादी केन्द्रका रत्न ढकालले छ हजार ७५० मत र एमालेका दिलबहादुर तामाङले चार हजार ८१२ पाउनुभएको छ । ढकाल र तामाङबीच एक हजार ९३८ मतान्तर छ ।  प्रतिनिधि सभा १ प्रदेश सभा (ख)तर्फ नेपाली काङ्ग्रेसका तीर्थबहादुर लामाले छ हजार ९८ मत र एमालेका चन्द्रबहादुर लामाले पाँच हजार १७६ मत पाउनुभएको छ । काँग्रेसका लामा र एमालेका लामाबीच ९२२ मतको मतान्तर छ । 

यस्तै जिल्लाको प्रतिनिधि सभा २ काे प्रदेश सभा (क) मा नेकपा एसका लक्ष्मण लम्सालले छ हजार ८७ मत, एमालेका कुमारप्रसाद खकुरेलले पाँच हजार ३७८ मत पाउनुभएको छ । लमसाल र खकुरेलबीच ७०९ मतको फरक रहेको छ । प्रदेश (ख) तर्फ नेपाली काङ्ग्रेसका कञ्चनचन्द्र वादेले चार हजार ८१५ मत र एमालेका कुमार थापाले चार हजार १५५ मत पाउनुभएको छ । वादे र थापाबीच ६६० मतको मतान्तर छ ।