सङ्घीय सांसदमा सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ह्याट्रिक जित हासिल गर्नुभएको छ । २०५६, २०७० साल र २०७९ को संसदीय निर्वाचनमा भारी मतले विजय प्राप्त गरी बस्नेतले ह्याट्रिक जित निकाल्नु भएको हो ।
काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रकाे मतपरिणामअनुसार नेपाली कांग्रेस सात, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँच, नेकपा एमाले दुई र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) एक क्षेत्रमा विजयी भएकाे छ ।
ललितपुर महानगरपालिका–२५ सोह्रखुट्टेबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भर्ती गरिएको बागलुङ्का म्यादी प्रहरी जिम्मेवारी सकेर घर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक कार्यक्रम गरी उहाँहरुलाई विदाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले विदा हुने म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
शोकमा रहनुभएका स्याङ्जा १ (क) सीताकुमारी सुन्दास विजयी हुनुभएको छ । मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षीया आमा चित्रकुमारी सुन्दासको निधन भएको थियो ।
चितवन १ (क) बाट बागमती प्रदेश सभाको सदस्यमा नेकपा एमालेका जगन्नाथ थपलिया भारी मतान्तरले निर्वाचित हुनुभएको छ । यद्यपि, निर्वाचन आयोगले भने यसको आधिकारिक घोषणा गर्न बाँकी छ ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने प्रदेश सभा–३ (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित हुनु भएको छ । काँग्रेस नेता कुर्मीले एमालेका भीमबहादुर ओलीलाई दुई हजार ४८३ मतको अन्तरले पराजित गरेर निर्वाचित हुनुभएको हो ।
सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई एमालेको ३२ वर्षीय संसदीय इतिहासमा पहिलो पटक विजयी हुनुभएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मत ल्याई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली का्ंगे्रसका उम्मेदवार डा. रणबहादुर रावलले आठ हजार ५३ मत पाउनु भएको छ ।
मानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार एमालेले पाँच लाख ४७ हजार ३१९ मत प्राप्त गरेको छ ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला हुनेछ । सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शनबाट प्रारम्भ भएको उक्त महोत्सवको आज दास्रो दिन विवाहमण्डपको बगैंचामा फूलबारी लीला हुने जानकी मन्दिरले जनाएको छ ।
भक्तपुर – २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली – १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे ।
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।