प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोवेल शिक्षण अस्पताल विराटनगरमा निशुल्क क्याविन सेवाको उद्घाटन गर्नुभएको छ । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टा भित्र ५० शैया क्याविन निशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हाे।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनुभएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनिकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो ।
झापाको बिर्तामोडमा शनिवार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ । बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहनुभएका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यसअघि तीन वटा सम्पन्न भए पनि निर्वाचन क्षेत्र नं. २ को अन्तिम परिणाम ढिलो आएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी हुनु भएको छ । उहाँले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन ।
रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहोरा विजय हुनुभएको छ । पछिल्लो मत परिणामअनुसार बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ६ मत ल्याउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको विश्वासअनुसार आफूहरू कुराभन्दा बढी काम गरेर देखाउने बताउनुभएको छ ।
जिल्लाको बूढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचनमा मतदाताले आफ्नो मतदान शान्तिपूर्णरुपमा गरेका छन् । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।
सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को मतगणना जारी छ । मतगणना सुस्त भएको भन्दै उम्मेदवारहरुले गति बढाउन माग गरेका छन् ।
निर्वाचन आयोगले शनिबार एक बजेसम्म समानुपातिक निर्वाचनको मतगणना सार्वजनिक गरेको छ । प्रत्यक्ष निर्वाचनमा दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले समानुपातिक मतगणनामा पहिलो स्थानलाई निरन्तरता दिएको छ ।
नेपालगन्जका अतिक्रमित नाला र सडक खाली गराउन प्रमुख प्रशान्त विष्टले डोजर लिएर हटाउन सुरु गर्नुभएको हो ।
जितबहादुर मल्ल प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमाले मुगुको क्षेत्र (क) बाट निर्वाचित हुनुभएको हो
पश्चिम नवलपरासीको परिणामअनुसार जिल्लामा कम्युनिष्ट पार्टीहरूको उपस्थिति शून्य भएको छ । पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनुभएको छ ।
लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्त्विक अवशेषहरूको संरक्षणका लागि विज्ञहरुबीच अन्तर्राष्ट्रिय गोष्ठी गरिएको छ ।