• १४ वैशाख २०८१, शुक्रबार

चर्चित कलाकारहरू चुनावी रङ्गमञ्चमा अस्वीकृत

blog

काठमाडौं, मंसिर ११ गते । सिनेमा र रङ्गमञ्चमा धेरै रुचाइएका कलाकारहरू वास्तविक चुनावी रङ्गमञ्चमा अस्वीकृत हुनुभएका छन् । चुनावमा उम्मेदवारी दिनुभएका  प्रायः कलाकारहरूको पराजय हुँदा प्रदेशसभामा एकजना विजय हुनुभएको छ । कांग्रेसबाट प्युठान 'ख'मा निर्माता रोज राणा निर्वाचित हुनुभयो। रिलको राजनीतिक शृङ्खलामा सफल भए पनि कलाकारहरू राजनीतिक जीवनमा असफल हुनुभएको हो ।

एमालेबाट दाङ – ३ मा उम्मेदवारी दिनुभएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गर्नुभयो । कांग्रेसका दीपक गिरीले ३६ हजार आठ सय ४२ मतसहित जित्दा गायिका ओली २९ हजार ३२ मतसहित पराजित हुनुभयो ।

नायिका रेखा थापा राप्रपाबाट मोरङ –२ मा उम्मेदवारी दिएर चुनावमा होमिँदा नेपाली कांग्रेसका सुनिल कुमार शर्माले ४८ हजार ६३१ मतसहित जित हासिल गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका भानु भक्त ढकाल दोस्रो हुँदा १० हजार नौ सय ९८ मतमा मात्र प्राप्त भयो । चलचित्रमा पहिलो नायिकाकाे दर्जामा रहनुभएकी उहाँ चुनावमा तेस्रो स्थानमा खुम्चिनुभयो । 


–कांग्रेसबाट प्यूठान 'ख'मा निर्वाचित निर्माता रोज राणा 

सामाजिक सञ्जालमा नायिका थापा लेख्नुहुन्छ, “मलाई माया र विश्वास गरेर मतदान गर्नुहुने दश हजार नौ सय ८९ जना मतदातालाई हार्दिक नमन गर्न चाहन्छु । निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वाभाविक होइन । तर निर्वाचित हुने एक जना मात्र हो । राजनीतिमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन ।” 

धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका 'स्ट्यान्डअप कमेडियन' तथा कलाकार हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरे पनि जितकाे लागि सो मत पर्याप्त भएन । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी हुनुभयो । 

कमेडियन तथा कलाकार पन्तकारअनुसार जित्नु मात्र ठूलो कुरा हैन, हारबाट प्राप्त भएको अनुभव र सिकाइले भविष्यमा मजबुत नेतृत्व तयार पार्न मद्दत गर्दछ । देश बनाउने परिकल्पना बोकेर हिँडेका हामी कत्ति पनि विचलित नहुने र धादिङमा घण्टी राम्रैसँग बजेको छ । अर्को पटक अझ सशक्त ढङ्गले घण्टी बजाउने प्रण गर्नेछु। 

काठमाडौं–६ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका पपगायक सञ्जय श्रेष्ठ र कलाकार मधुसूदन पाठक ‘सिते बा’ र निर्देशक मनोज पण्डितले मतदाताहरूको मन जित्न सक्नुभएन । 

पराजयपछि मनोज पण्डित सामाजिक सञ्जालमा लेख्नुहुन्छ, “मैले पाएको १७३ मतको म सम्मान गर्छु । मेरो उम्मेदवारी दण्डहीनताविरुद्ध थियो र सामाजिक व्यवस्थापनको लागी यो आवाज सधैँ उठाइरहनेछु । ४५ हजार ३४५ मतले माननीयको अपराधलाई ढाक्न सक्दैन । अपराध भइसकेपछि त्यसको परिणति भोग्नै पर्छ । हो, चुनौती बढ्यो भन्ने मात्र हो । राम्रो कामको लागि पुरस्कार र गलत कामको लागि दण्ड हुने प्रणालीलाई अझ लोकतान्त्रिक, मानवीय र शक्तिशाली बनाउनु ।”

कलाकार तथा वितरक करण श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ ‘ख’ तर्फ उम्मेदवारी दर्ता गराउनुभएको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसका सुरेश चन्द्र लामिछाने चार हजार पाँच सय १० मतसहित जित हासिल गर्नुभएको हो । कलाकार श्रेष्ठले ६७ मत मात्रै प्राप्त गर्नुभयो ।