सिराज खान
नेपालगञ्ज, मङ्सिर १० गते । नेपालगन्जका अतिक्रमित नाला र सडक खाली गराउन प्रमुख प्रशान्त विष्टले डोजर लिएर हटाउन सुरु गर्नुभएको हो ।
सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट सडकपेटी खाली गराउन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकालाई व्यवस्थित सहरका रूपमा विकास गर्न अभियान सुरु गरिएको उहाँका भनाइ छ ।
नेपालगञ्जको सदरलाईन, एक्लैनी, ईदगाह रोड, सुर्खेतरोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडका अधिकांश नाला र सडकपेटीलाई कब्जा गरेर व्यापार गर्ने गरिएकोले ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले पनि जनाएको छ ।
सो कार्यालयका प्रमुख हिमालय शाहका अनुसार बजारको सडकपेटी जति पटक गएर खाली गराए पनि व्यवसायीले अटेरी गर्ने गरिएका कारण समस्या हुँदै आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक माइकिङ गरेर जानकारी गराउँदै आए पनि स्थानीयले सो सूचनाको कुनै पनि वास्ता गरेको नदेखिएपछि डोजर लिएर निस्कनुपरेको उपमहानगरले जनाएको छ ।