• ११ मंसिर २०८१, मङ्गलबार

बैतडीमा भण्डारीको अग्रता, मतान्तर घटाउँदै कुँवर

blog

तस्बिरः एमालेका उम्मेदवार दामोदर भण्डारी, माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुँवर

गोकर्ण दयाल

बैतडी, मङ्सिर ७ गते । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायम गरिरहनु भएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादीका उम्मेदवार नरेन्द्र कुँवर ( विजयसुन्दर) ले मतान्तर घटाउँदै हुनुहुन्छ । 

एमालेका उम्मेदवार भण्डारीले बुधबार बिहानसम्म नौ हजार ९२१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी कुँवरले नौ हजार ५३ मत ल्याएर मतान्तर घटाउँदै हुनुहुन्छ । 

१० स्थानीय तह र ८४ वडा रहेको बैतडीमा वडा र पालिकाअनुसार मतगणना भइरहेको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको हलमा मङ्गलबार बेलुकी ४ बजेबाट मतगणना सुरु भएको हो । मतगणनाको सुरुदेखि अग्रता लिइरहनुभएका भण्डारीलाई पछ्याउँदै कुँवरले बुधबार बिहानसम्म मतान्तर घटाउँदै नौ हजार ५३ मत प्राप्त गर्नुभएको छ । 

बुधबार बिहानसम्म प्रतिनिधिसभातर्फ डिलासैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै वडाको मत गणना सकिएको छ । तीन वटा पालिकाको मत गणना हुँदा एमालेका उम्मेदवार भण्डारीले ८६८ मतले अग्रता लिइरहनु भएको छ । 

प्रदेशसभा (क) मा एमाले र (ख) मा काँग्रेसको अग्रता 

दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बैतडी (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पालले नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर विष्ट र कांग्रेसकै बागी उम्मेदवार हरिमोहन भण्डारीलाई पछि पार्दै अग्रता लिईरहनु भएको छ । 

बुधबार बिहानसम्म एमालेका उम्मेदवार पालले आठ हजार ४२५ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर विष्टले पाँच हजार ९३४ र कांग्रेसका बागी उम्मेदवार हरिमोहन भण्डारीले सात हजार ६९८ मत ल्याएर एमालेका उम्मेदवार पाललाई पछ्याइरहनु भएको छ ।    

प्रदेश सभा (ख) मा भने नेपाली कांग्रेसका शिवराज भट्टले एमालेका उम्मेदवार लीलाधर भट्टलाई करिब एकहजार छसय मतले पछि पार्दै अग्रस्थानमा हुनुहुन्छ । 

बुधरबार बिहानसम्म कांग्रेसका उम्मेदवार शिवराज भट्टले १३ हजार १२० मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लीलाधर भट्टले ११ हजार २७९ मत प्राप्त गर्नु भएको छ । 

मुख्य निर्वाचन अधिकृत कार्यकालका अनुसार बैतडीमा प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आज साँझसम्म आउने भएको छ । दुवै क्षेत्रमा रहेका पाँच पालिका मध्ये चारको मतगणना सकिएर एक÷एक पालिकाको मात्रै गणना बाँकी रहेकाले आज साँझसम्म मत परिणाम आउन सक्ने बताइएको छ । 

प्रदेश सभा (क) मा पुरचौडी नगरपालिकाको मतगणना सुरु भइसकेको छ भने अन्य पालिकाको मतगणना सम्पन्न भइसकेको छ । 

जारी मतगणना अनुसार प्रदेश सभा (क)मा एमालेका उम्मेदवार सुरेन्द्र पालको अग्रता कायमै रहेको छ । एमालेका पाल ९ हजार ९१ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ८ हजार १४४ मत सहित पछ्याइरहेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका बिरबहादुर विष्टले ६ हजार ४५० मत पाएका छन् । 

यस्तै प्रदेश सभा (ख)मा दशरथचन्द नगरपालिकाका तीन वटा वडा र दोगडाकेदार गाउँपालिकाको मात्रै मतगणना हुन बाँकी रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्टले अग्रता कायमै राख्नु भएको छ ।

बुधबार बिहानसम्म २६ हजार ८७२ मत गणना हुँदा कांग्रेसका भट्टले १३ हजार १२० मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ ।  एमालेका लिलाधर भट्टले ११ हजार २७९ मतसहित पछ्याई रहनु भएको छ ।  

बैतडीमा आइतबार सम्पन्न भएको प्रतिनि सभा र प्रदेश सभाको निर्वाचनमा ७८ हजार ४१६ मत खसेको थियो ।