लुम्बिनी प्रदेश सभाका सदस्यले सङ्घीयताको अनुभूति दिलाउने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा सदस्यले सरकार गठन भएको लामो समयसम्म पूर्णता प्राप्त गर्न नसकेको भन्दै अविलम्ब सरकार विस्तार गर्नसमेत आग्रह गर्नुभएको थियो ।
गुणस्तरीय पूर्वाधारसहित तालिम प्राप्त जनशक्ति भए पनि घरमा बच्चा जन्माउने क्रम घटेको छैन । स्थानीय तहको लगानीमा व्यवस्थित पूर्वाधार र जनशक्तिसहित बर्थिङ सेन्टर स्थापना भए पनि घरमै सुत्केरी हुने क्रम नघटेको हो । जिल्लाका अधिकांश स्थानीय तहले घरमा जन्म हुने शिशुको सङ्ख्या शून्यमा झार्न बर्थिङ सेन्टरको स्थापना गर्ने क्रम बढेको छ तर बच्चा भने बर्थिङ सेन्टरमा होइन, घरमै जन्मिने गरेका छन् । पाल्पाका १० स्थानीय तहमा हाल ४५ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी भए पनि घरमा जन्म हुने शिशुको सङ्ख्यामा कमी आउन सकेको छैन ।
म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको दुई करोड ९९ लाख ४० हजार ९३६ रुपियाँ र स्थानीयवासीको २० प्रतिशत श्रमदानमा दरबाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमार्फत निर्माणाधीन उक्त आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरेपछि २०७४ फागुन महिनादेखि काम थालिएको थियो ।
गण्डकी प्रदेश सभाले दुई अध्यादेश पारित गरेको छ । अघिल्लो सरकारका कानुनमन्त्री बिन्दुकुमार थापाले अधिवेशन सुरु भएको पहिलो दिन पुस १८ गते उक्त अध्यादेश पेस गर्नुभएको थियो । सदनबाट दुवै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री रोशबहादुर गाहा थापाले प्रस्तुत गर्नुभयो । दुवै अध्यादेशमा अस्वीकार गर्ने सूचना प्राप्त नभएपछि सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश सभाले सर्वसम्मत रूपमा दुवै अध्यादेश पारित गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको तटीय क्षेत्र सरसफाइ अभियान चार सय हप्तामा पुगेको छ। चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको तटीय क्षेत्रमा हुने फोहोरको सरसफाइ गर्दै नदीलाई स्वच्छ राख्नु अभियानको मुख्य उद्देश्य हो। अभियानबाट नदी स्वच्छ हुँदै जलचरको बासस्थानमा सुधार आएको अभियानका अध्यक्ष अपिल घिमिरेले बताउनुभयो। अध्यक्ष घिमिरेले भन्नुभयो, “घडियाल गोही, कछुवा, माछाजस्ता जलचरलाई मात्रै होइन, निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता जनावरलाई पनि स्वच्छ पानी खुवाउने दायित्व हाम्रै हो भन्ने सम्झेर नै यो अभियान थालेका हौँ।”
कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो ।
एकसिङे गैँडासहित संरक्षित जनावरको सुरक्षाका लागि अपनाइने रणनीति तयार पार्न पाँच देशका विज्ञको तीनदिने सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन, अनुसन्धान प्रयोजन तथा सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले २४० मिटर लामो सुरुङ मार्ग निर्माण सुरु गरिएको हो।
बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।
वन्यजन्तुको विचरणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। निकुञ्जले यस वर्ष घाँसेमैदान निर्माण आयोजनाअन्तर्गत ३०८ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन र ५० हेक्टरमा नयाँ निर्माणको काम सुरु गरेको हो। अहिले निकुञ्जको तमोर ताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सुरु गर्न लागेको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली अब कार्यान्वयनमा आउने भएको छ। मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच विवादका कारण यसअघि तीन पटक कार्यान्वयनमा ल्याउन मन्त्रालयले निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिँदै आएको थियो।
सप्तरीको राजविराज नगरपालिका क्षेत्रभित्र बिटोरी जग्गाका कारण पाँच हजार परिवारले वर्षौंदेखि पीडा खेप्दै आएका छन्। वर्षौँदेखि करको रसिदका आधारमा भोग चलन गर्दै आएको बिटौरी जग्गा धनी समस्या पर्दा बैङ्क तथा वित्तीय संस्थामा धरौटी राख्न नपाउँदा पीडा खेप्न बाध्य भएका हुन्। राजविराजको ६८ बिघा जग्गा विगत पाँच वर्षदेखि सरकारले बिक्री वितरण गर्न र बैङ्कमा राख्न रोक लगाएपछि बिटोरी धनी पीडित बनेका छन्।
विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीम पुस्तकालय अहिले थला परेको छ ।
मोरङको कानेपोखरी–७, आइतबारेका कमलप्रसाद पौडेल छोराछोरी पढाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ। दुई बिघा जमिन भएका उहाँले १५ कट्ठाको एउटा कित्ता सहकारी संस्थामा धितो राखेर ऋण लिनुभयो। छोरीको बिहे गर्नुपर्ने भएपछि उहाँले ऋण लिनुभएको हो। उहाँकै नाममा एक बिघा पाँच कट्ठाको अर्को कित्ता छ। दुवै कित्ताको पुच्छरतर्फ १५ धुर जति जमिन रेल मार्गमा परेको छ। दुवै कित्तामा रेलको नक्सा परेकाले दुईवटै जग्गा नेपाल सरकार रेल विभागले रोक्का गर्न बेलबारी मालपोत कार्यालयलाई पत्राचार ग-यो। त्यसयता उक्त क्षेत्रका बासिन्दालाई अप्ठेरो परेको छ।
रुपियाँ होइन, पैसाको सहयोगले विद्यालय चलेको सुन्दा आश्चर्य लाग्न सक्छ। पाँच पैसाको सहयोगबाट चलेको विद्यालयमा अहिले चार जना स्थायी दरबन्दीमा शिक्षक कार्यरत छन्।