शालिग्राम नेपाल
चितवन, माघ २१ गते । एकसिङे गैँडासहित संरक्षित जनावरको सुरक्षाका लागि अपनाइने रणनीति तयार पार्न पाँच देशका विज्ञको तीनदिने सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
विश्वमा लोपोन्मुख अवस्थामा रहेको एकसिङे गैँडाको संरक्षणमा देखिएको चुनौतीको विषयमा छलफल गरेर साझा योजना तयार पार्न सम्मेलनको आयोजना गरिएको हो। यसअगाडिको सम्मेलन भारतको दिल्लीमा आयोजना भएको थियो। नेपालमा सम्मेलन पहिलो पटक आयोजना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले जानकारी दिनुभयो।
प्रधानमन्त्री दाहालको भिडियो सन्देश
प्रधानमन्त्री पुष्पकमल दाहालले एकसिङे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएकाले यसको सुरक्षामा नेपाल सरकार संवेदनशील रहेको बताउनुभएको छ। भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको शुभकामना दिँदै उहाँले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौती पूर्ण बन्दै गएकाले त्यस क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर लोपोन्मुख वन्यजन्तुलाई जोगाउने बताउनुभयो।
उहाँले नेपालको प्राकृतिक सम्पदा, एकसिङे गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो।
प्रधानमन्त्री दाहालले वन्यजन्तुको संरक्षणले पारिस्थितिकीय प्रणालीको रक्षा गर्ने भन्दै नेपाल सरकारले उचित तरिकाले त्यस्ता वन्यजन्तुको सुरक्षामा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। स्थानीयको सहयोग र सहभागितामा संरक्षित जनावरको सुरक्षा गरिने प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो। विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि वन्यजन्तुको संरक्षणमा चुनौती थपिँदै गएको प्रधानमन्त्री दाहालले सन्देशमा बताउनुभएको थियो।
सम्मेलनले साझा धारणा तयार गर्ने
सम्मेलनमा वातावरण परिवर्तनले गैँडाको बासस्थानमा परेको प्रभावको बारेमा विज्ञहरूले धारणा राख्ने कार्यक्रम रहेको छ। पाँचै देशमा गैँडा संरक्षणका विषयमा अहिले अपनाइएको सुरक्षाका कार्यक्रमहरू, चोरी सिकारीविरुद्ध अपनाउने योजना, तयारी र प्रभावको विषयमा छलफल हुनेछ।
नेपालका विज्ञ र अन्य देशका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ। गैँडाको मुख्य बासस्थान, मारिएका स्थानहरू प्रत्यक्ष रूपमा अवलोकन गरी चुनौतीको विषयमा साझा धारणा तयार गर्ने कार्ययोजना रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो। सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन्।
चालू आवमा ११ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चितवनमा गत साउन महिनादेखि अहिलेसम्म ११ गैँडा मरेकोमध्ये आठवटा कालगतिले र दुईवटा चोरी सिकारीले मारेका छन्। एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। पछिल्लो गणनाअनुसार नेपालमा ७५२ एकसिङे गैँडा रहेकोमा ६९४ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन्।