• २९ वैशाख २०८२, सोमबार

नियामक निकाय मूकदर्शक बनेपछि राजविराजका सडक पेटी अतिक्रमण झन् बढ्यो

blog

सडक पेटी अतिक्रमण गरेर दुवै किनारमा थापिएको पसलहरू । तस्बिर: विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), वैशाख २८ गते । राजविराजमा जताततै सडक पेटी अतिक्रमण गरेर पसल थाप्ने चलन बढ्दै गएको छ । यहाँको अदालत रोड स्थित उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राम मन्दिरसम्मको करिब पाँच सय मिटर बाटोमा सडक पेटी र सडक नै छेकेर फुटफाटे पसल थाप्नुले आवतजावतमा बाधा पुगेको हो । 

हुलाकी सडक अन्तर्गत निर्माण भएको अदालत रोडमा पैदल यात्री हिँड्नका लागि बनाइएको पेटी कतै खालि देखिँदैन् । मालपोत कार्यालय सप्तरी अगाडि र वरपर जहाँतहाँ सडक पेटीमा होटेलदेखि फुटफाथमा पसल र पार्किङले आवतजावतमा कठिनाइ भएको छ ।

सडक पेटीमा मात्र नभई झन्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिए पनि राजविराज नगरपालिकाको ध्यान त्यसतर्फ पुग्न सकेको छैन ।

सडक पेटी र सडक नै छेकेर व्यापार गर्नेहरूमा तरकारी र फलफूल व्यवसायीदेखि चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछि ओहोरदोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । 

राजविराज स्थित खानेपानी मोडदेखि राम मन्दिरसम्मको अदालत रोडमा जिल्ला प्रशासन कार्यालय, जिल्ला हुलाक कार्यालय, कर कार्यालय, जिल्ला अदालत, वन डिभिजन कार्यालय, उच्च अदालत, मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरू छन् । यो सडक बिदाको दिन बाहेक सधैँ सेवाग्राहीले भरिभराउ हुन्छ ।

एकातिर कार्यालयहरूमा आउने सेवाग्राहीहरूको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामग्री किन्न आउने उपभोक्ताको अत्ध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउनुले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी दुखा चौधरीले बताउनुभयो । 

कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामग्री थुपारि दिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको बनाएको उहाँको भनाइ छ । 

पैदल यात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर सञ्चालनमा ल्याइएका यस्ता पसलहरू अविलम्ब हटाउनु पर्ने स्थानीयहरूले माग गरेका छन् । 

राजविराज स्थित हटियाको पनि अवस्था यस्तै छ । नुन देखि सुन सम्म किन्न आम सर्वसाधारण राजविराजको मुटुमा रहेको हटिया आउने गर्दछन् तर, त्यहाँ नगरपालिकाले अतिक्रमण हटाएर बनाइएको नाला, सडक पेटी फेरि अतिक्रमणमा पर्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुँदै आएको छ ।

सडक पेटीमै दुवैतर्फ पसल थापेर व्यापार गर्न थालिएपछि साँझ पख आउजाउ गर्नमा समस्या हुँदै आएको भए पनि नगरपालिकाले व्यवस्थित बनाउन सकेको छैन ।

सडक पेटी अतिक्रमण हटाउन राजविराज नगरपालिका सँग समन्वय भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनु भयाे । 

उहाँले हटियामा निर्माणाधीन सपिङ कम्प्लेक्सको निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएपछि धेरै हदसम्म यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सडक पेटी अतिक्रमण छिट्टै हटाइने जानकारी दिनुभयो ।

यसअघि सडक पेटी खाली गराएको थिएँ, यो बिचमा म बाहिर गएँ नगरपालिकाले ध्यान नदिँदा फेरि अतिक्रमण भएको जनगुनासो आएको छ, नगरपालिकाले छिट्टै नै अतिक्रमण हटाएर आवागमनलाई सहज बनाउने छ” उहाँले भन्नुभयो ।