• २९ वैशाख २०८२, सोमबार

पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबिच प्रत्यक्ष वार्ताको प्रस्ताव

blog

मस्को,  वैशाख २८ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राख्नुभएको छ ।

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए ।

क्रेमलिनमा १ः०० (शनिबार २३०० जिएमटी) बजेपछिको आफ्नो बयानमा पुटिनले त्यो आह्वानलाई स्पष्ट रूपमा सम्बोधन गर्नुभएन बरू यसको सट्टा ताजा रूस–युक्रेन वार्ताका लागि प्रति–प्रस्ताव प्रस्तुत गर्नुभयो ।

“हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ र त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भन्नुभयो ।

रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन् । त्यसपछि द्वन्द्व निरन्तर जारी छ ।

“हामी इस्तानबुलमा बिहीबार मे १५ मा ढिलाइ नगरी (वार्ता) सुरु गर्ने प्रस्ताव गर्दछौँ”, पुटिनले भन्नुभयो । उहाँले वार्तालाई सहज बनाउन सहयोग माग्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताउनुभयो ।

उहाँले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मूल कारणहरू हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न’ वार्ता चाहेको बताउनुभयो ।

रुसको ‘द्वन्द्वका मूल कारणहरू’ सम्बन्धी सन्दर्भहरूले सामान्यतया किएभ र पश्चिमसँगका कथित गुनासोहरूलाई जनाउँछ, जुन मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरु गर्न औचित्यका रूपमा प्रस्तुत गरेको छ ।

यसमा युक्रेनलाई ‘डि–नाजिफाई’ गर्ने, देशको पूर्वमा रूसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तारको विरुद्धमा पछाडि धकेल्ने र युक्रेनको पश्चिमतर्फको भूराजनीतिक बहाव रोक्ने प्रतिज्ञाहरू समावेश छन् ।

रुसको आक्रमण साम्राज्यवादी शैलीको भूमि कब्जा बाहेक अरू केही नभएको भन्दै किएभ र पश्चिमले ती सबैलाई अस्वीकार गरेका छन् ।

रुसले आफ्नो आक्रमण सुरु गरेदेखि दशौँ हजारको मृत्यु भएको छ भने लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

“हामी यो वार्ताका क्रममा केही नयाँ युद्धविरामको सहमति हुन सक्ने कुरा अस्वीकार गर्दैनौँ”, पुटिनले भन्नुभयो ।

उहाँले युक्रेनका पश्चिमी समर्थकहरूलाई ‘रुससँग युद्ध जारी राख्न चाहेको’ आरोप लगाउनुभयो र – ३० दिने युद्धविरामका लागि विशेष युक्रेन–युरोपेली प्रस्तावको उल्लेख नगरी – युरोपेली ‘अल्टिमेटम’ र ‘रुस–विरोधी बयानबाजी’ को आलोचना गर्नुभयो । रासस/एएफपी