• ८ पुस २०८२, मङ्गलबार

अतिक्रमण गरी बनाइएका १२ टहरा भत्काइए

blog

अतिक्रमण गरी भत्काइएका टहराहरू । तस्बिरः ज्ञानु पङ्गेनी

ज्ञानु पङ्गेनी

मध्यविन्दु, पुस ८ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको दाउन्ने बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू मङ्गलबार हटाइएको छ । 

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार राष्ट्रिय वन अतिक्रमण गरी निर्माण गरिएका १२ वटा टहराहरू हटाइएको हो । 

डिभिजन वन कार्यालयको नेतृत्वमा पुगेको सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले टहरा हटाउने काम गरेको कार्यालय प्रमुख अधिकारीले बताउनु भयो । ‘हामीले यसअघि नै टहरा हटाउन सूचना जारी गरेका थियौँ । तर अटेर गरियो, पटक पटक अनुरोध गर्दा पनि नसुनेपछि हामीले आज टहरा हटाएका हौँ ।’

अधिकारीले भन्नुभयो, ‘दुई वर्षभित्र बनेको टहरा अहिले हटाएका हौँ । अब हामीले वन क्षेत्रमा नयाँ अतिक्रमण हुनै दिँदैनौ र पुराना अतिक्रमणलाई पनि क्रमशः हटाउँदै जान्छौ ।’ पूर्व–पश्चिम राजमार्गको छेउछाउमा वन क्षेत्र मिचेर घर, टहरा तथा होटल सञ्चालन हुँदै आएको पाइएपछि वन संरक्षण गर्न डिभिजन वन कार्यालयले टहरा हटाउने अभियान सञ्चालन गरेको हो । 

डिभिजन वन कार्यालय प्रमुख अधिकारीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य आगामी दिनमा पनि निरन्तर जारी राख्ने भन्दै वन क्षेत्र अतिक्रमण नगर्न र प्रचलित कानुनको पालना गर्न स्थानीयवासी तथा व्यवसायीलाई आग्रह गर्नु भएको छ ।