• ८ पुस २०८२, मङ्गलबार

छैटौँ क्रसकन्ट्री दौडमा सेनाका धावक करण च्याम्पियन

blog

२५ किमी दौडमा प्रथम आर्मीका करण रावल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, पुस ८ गते । साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौँ क्रसकन्ट्री दौडको च्याम्पियन बन्नु भएको छ । 

‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको मङ्गलबार भएको क्रसकन्ट्रीमा रावलले एक घण्टा २७ मिनेट ३० सेकेन्डमा २५ किमी दूरी पार गर्दै उपाधि सहित ५० हजार रुपियाँ हात पार्नु भएको हो । रावल आफ्नो पुरानो रेकर्ड २२ सेकेन्डले तोड्नु भएको हो । 

त्यस्तै आर्मी कै अर्जुन बुढाले एक घण्टा २९ सेकेन्ड १८ मिनेटमा दूरी पार गरेर दोस्रो बन्दै ४० हजार र सङ्खुवासभाका तेन्जिङ शेर्पाले एक घण्टा ३१ मिनेट १७ सेकेन्डमा दूरी पार गरेर तेस्रो बन्दै ३० हजार हात पार्नु भएको हो ।  

यस्तै २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडमा प्रथम बबिन योगी(सल्यान), दोस्रो अजय पाण्डे क्षेत्री(कपिलवस्तु) र बादल कार्की(बाग्लुङ) तृतिय बन्नु भयो । 

यस्तै महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा प्रथम सृजना पाण्डे(आर्मी), दोस्रो दौपता कठायत(दैलेख) र तृतीय अनिता राई(भोजपुर) बन्नु भयो । १० किमी पुरुष तथा महिलामा प्रथम, दोस्रो र तृतीयले २०, १५ र १० हजार रुपियाँ प्राप्त गर्नु भयो ।  

यस्तै विद्यार्थी छात्र तर्फ रोशन साङतान प्रथम, सुजन कार्की दोस्रो र विशाल रानाले तृतीय स्थान हात पार्नुभयो भने छात्रातर्फ रञ्जिता जिटी प्रथम, सपना परियार दोस्रो, रोशनी नेपाली तृतीय बन्नु भएको हो । विद्यार्थीतर्फ प्रथमले आठ, दोस्रोले पाँच र तृतीयले पाँच हजार प्राप्त गर्नु भयो । 

यस्तै रन फर फन तर्फ लुङगी दौडमा सरिता बुढामगर प्रथम, नेत्र कुमारी पौडेल दोस्रो र तृतीय स्थान बाल कुमारी भट्टराईले हात पार्दै क्रमश: पाँच, तीन र दुई हजार रुपियाँ हात पार्नुभयो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पुरस्कार वितरण गर्नु भएको हो । 

ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्न, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पुर्‍याउने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले यहाँ प्रतियोगिता गरेको मञ्चका महासचिव जीवनप्रसाद पोखरेलले जानकारी दिनु भयो । 

२५ किमीमा प्रथम रावले तेस्रो पटक समेत सहभागी भएर उपाधि जित्ने रहर रहेको बताउनु भयो । पुतलीबजार नगरपालिका–९, कोल्मा वराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन वराहचौरमा आएर टुङ्गिएको हो ।

प्रतियोगितामा २५ किमीमा २० जना, १० किमी पुरुष ६५, १० किमी महिला १० जना, पाँच किमी छात्र ६५ जना, छात्रतर्फ २१ जना र रन फर फनमा १३ जना खेलाडी सहभागी भएको पोखरेलले बताउनु भयो ।