अविनाश चौधरी
धनगढी, वैशाख २८ गते । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले ६० लाख रुपियाँ बराबरको लोक कल्याणकारी छात्रवृत्ति प्रदान गरिने भएको छ ।
चैतन्यले कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्ने भएको हो । यस वर्षदेखि कक्षा ११ सम्मको पढाई सञ्चालन गर्न गइरहेको विद्यालयले टप २५ विद्यार्थीलाई चैतन्य छात्रवृत्ति प्रदान गर्ने आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको कुना कन्दरा, दूरदराजमा रहेका प्रतिभावान, मेधावी, जेहेन्दार, आर्थिक विपन्नता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले बताउनुभयो । “छात्रवृत्ति प्रक्रियाका लागि प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन हुने छ”, उहाँले भन्नुभयो, “टप २५ विद्यार्थी छात्रवृत्तिका लागि छनोट हुने छन् । छनोट भएका विद्यार्थीले विद्यालयमा वार्षिक शुल्कमात्रै तिर्नु पर्ने छ । बाँकी अरू सबै शुल्क छात्रवृत्ति अन्तर्गत निःशुल्क हुने छ ।”
यसैबिच, चैतन्य पाठशाला र नेपाल महर्षी वैदिक फाउन्डेसनबिच सचेतनामा आधारित शिक्षाका लागि द्विपक्षीय सम्झौता भएको छ । फाउन्डेसनका अन्तर्राष्ट्रिय डाइरेक्टर राजा किङ्गस्ले, लिसले, निर्देशक मीनराज अधिकारी र पाठशालाका अध्यक्ष जोशीको उपस्थितिमा सम्झौता गरिएको हो । यो सम्झौताले विद्यार्थीको शैक्षिक यात्रा सार्थक, थप सृजनशील, अन्तरदृष्टियुक्त र जीवनोपयोगी बनाउन मद्दत पुग्ने जनाइएको छ ।