संयुक्त राष्ट्रसङ्घ, वैशाख २७ गते । सिरीयामा नोभेम्बर महिनादेखि हालसम्म ६ लाख ७० हजार मानिस विस्थापित भएका छन् भने १० लाखभन्दा बढी नागरिक आफ्ना घरमा पुनः फर्किएका संयुक्त राष्ट्रसङ्घ मानवतावादी निकायले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानविय सहायतासम्बन्धी समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थ तथा अन्य खतरनाक उपकरणहरूको जोखिमबिच मानिसहरू देशभरि आवतजावत गरिरहेका छन्, जसका कारण हालसम्म पनि सिरीयामा नागरिकहरू गम्भीर रूपले घाइते र मृत भइरहेका छन् ।
सन् २०२४ को डिसेम्बर १२ गतेदेखि अहिलेसम्म तीन सय ६७ जनाको ज्यान गएको छ र पाँच सय ४२ जना घाइते भएका छन्, तीमध्ये एक तिहाइ बालबालिका रहेका छन् ।
राष्ट्रसङ्घले आफ्नो साझेदार संस्थाहरूको सहयोगमा विस्थापितहरूका लागि अस्थायी आवास, जीविकोपार्जनका अवसर सिर्जना, खानेपानी आपूर्ति सुधार, खाद्यान्न तथा पोषण सहयोग जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यद्यपि, आर्थिक अभावका कारण यी कार्यहरू सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ ।
हाल सिरीयामा मानवीय सङ्कटबाट प्रभावित करिब ८० लाख मानिसलाई सहायता पुर्याउने लक्ष्यसहित राष्ट्रसङ्घले दुई अर्ब डलर बराबरको सहयोगको अपिल गरेको छ, तर हालसम्म त्यसको केवल १० प्रतिशत अर्थात् करिब २० करोड डलर मात्र जुट्न सकेको छ । रासस/सिन्ह्वा