• ८ पुस २०८२, मङ्गलबार

गण्डकी प्रदेशका १० सहकारी खारेज

blog

फडिन्द्र अधिकारी 
लेखनाथ, पुस ८ गते । गण्डकी प्रदेश सरकार अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका म्याग्दी, पर्वत र स्याङ्जाका ती सहकारीको दर्ता खारेज भएको मङ्गलबार सार्वजनिक सूचनाबाट जानकारी दिइएको हो ।

गण्डकी प्रदेश सहकारी ऐन, २०७५ अनुसार लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेका संस्थाहरूलाई खारेजीको प्रक्रियामा लगिएको सहकारी रजिष्ट्रार भेषराज रिजालले बताउनुभयो । यसअघि सूचना जारी गर्दा पनि सुधार नभएका र सञ्चालनमा आउन नसकेका संस्थाहरू खारेज गरिएको हो ।

कार्यालयले गत असार १५ गते नै निष्क्रिय रहेका सहकारीहरूलाई ३५ दिने सूचना जारी गरेको थियो । स्याङ्जाको गल्याङ नगरपालिकाभित्र सञ्चालित आठ वटा सहकारीको दर्ता खारेज भएको छ । जसमा गल्याङ ७ को भावना कृषि सहकारी संस्था र करुणा मौरीपालन सहकारी संस्था तथा गल्याङ ११ को खरीपानी मौरीपालन सहकारी संस्था छन् ।

गल्याङ–९ का पकवादी मौरीपालन सहकारी संस्था र गौरवशील अदुवा उत्पादक सहकारी संस्थाको पनि दर्ता खारेज भएको छ । गल्याङ ८ मा सञ्चालित परिश्रमी मौरीपालन सहकारी संस्था, अलकादेवी मौरीपालन सहकारी संस्था र सौर्यपानी अदुवा उत्पादक सहकारी संस्था पनि खारेजीमा परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको उपभोक्ता सहकारी सङ्घ लिमिटेड र पर्वतको मोदी गाउँपालिका–२ मा रहेको देउपुर मौरीपालन कृषक सहकारी संस्था लिमिटेडको  दर्ता खारेज गरिएको रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

कतिपय संस्थाले आफैँ खारेजीका लागि निवेदन दिएको र कतिपयको स्थलगत मुचुल्काका आधारमा पुस ७ गतेको निर्णयअनुसार दर्ता खारेज गरिएको रजिष्ट्रार रिजालले जानकारी दिनुभयो । “संस्था खारेज भए पनि त्यसको दायित्वबाट सञ्चालकहरू उम्कन पाउने छैनन् ,” उहाँले भन्नुभयो ।

सेयर सदस्य वा अन्य सरोकारवालाको कुनै लिनुदिनु बाँकी भए सम्बन्धित संस्थाका पदाधिकारीसँग सम्पर्क गर्न कार्यालयले भनेको छ ।