काठमाडौँ, वैशाख २८ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गरे मात्रै देशको अर्थतन्त्रले लय समात्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८२–०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गम्भीर छ त्यसैले पनि वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको बताउनु भयो । उहाँले अध्यादेशमार्फत विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गर्नुभयो ।
अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुन्नका लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि व्याघ्र छ । सरकार बने लगत्तै अर्थतन्त्रमा जुन किसिमको शिथिलताको स्थिति छ, यो शिथिलतालाई चिर्ने, बाहिर निस्किने र चलायमान बनाउने कसरी भनेर छलफल गरेका थियौँ । छलफलका क्रममा के महसुस गर्यौँ भने हामीसँग केही यस्ता कानुनी व्यवधानहरू छन्, ती व्यवधान नपन्छाई निजी क्षेत्रलाई उत्साह भर्न सकिँदैन भन्ने ठम्याइका आधारमा केही कानुन अध्यादेशका मार्फतबाट सम्बोधन गर्ने कोसिस गरेका छौँ ।
कानुन संशोधनको प्रक्रिया यति मात्रै पर्याप्त छैन, कानुन संशोधनका कामहरू पनि जारी राख्छौँ, अरू निजी क्षेत्रका सम्बोधन गर्नुपर्ने मागहरूका सम्बन्धमा पनि हामीले ध्यान दिनुपर्छ र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन ध्यान दिनुपर्छ भन्ने हिसाबले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनायौँ । आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू क्रमशः कार्यान्वयन गर्छौँ भनेका छौँ ।
एकै पटक सबै कार्यान्वयन गर्न सम्भव छैन । बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट गर्ने हो, कानुनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानुन निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने हो । अरू कार्यकारी तहको निर्णयबाट गर्न सकिने समाधानका लागि तदनुकुलका निर्णय गर्ने हो । तपाईँहरूको मनोबल नबढाई र लगानी कर्ताहरूलाई आकर्षित नगरी, रोजगारी सिर्जना नगरी हाम्रो देशको अर्थतन्त्र अगाडि जान सक्दैन ।’
उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताउनु भयो ।