• २६ वैशाख २०८१, बुधबार

थला पर्‍यो जेठो भीम पुस्तकालय

blog

भूकम्पपछि भीम पुस्तकालयको अवस्था । तस्बिर : गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, माघ २१ गते । विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्धि कमाएको जिल्लाकै जेठो दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीम पुस्तकालय अहिले थला परेको छ । 

प्रसिद्धि कमाए तापनि खासै कसैको चासो नभएकै बेला भूकम्पले भएको भवन समेत भत्किएपछि नामनिशाना नभएर थला परेको पुस्तकालयका कार्यवाहक अध्यक्ष तीर्थनारायण जोशीले गुनासो गर्नु भयो । 

उहाँका अनुसार २०२४ सालमै सञ्चालनमा आएको भीम पुस्तकालय भूकम्पले भवन पूर्ण क्षति भयो । पुनर्निर्माणका लागि कसैको चासो रहेन । पुस्तकालयमा रहेका जायजेथाको पनि अत्तोपत्तो छैन । अहिलेसम्म मलाई समेत जानकारी आएको छैन । भत्केको भवनका काठपात पनि बेवारिसे बनेको छ । 

धेरै अध्यक्ष फेरिएपछि रविभक्त श्रेष्ठ अध्यक्ष हुँदा मलाई कार्यवाहक अध्यक्ष बनाइयो । नाम मात्रको अध्यक्ष बनेँ । उहाँले भन्नुभयो, ‘‘काठमाडौँ, दोलखा, तत्कालीन जिल्ला विकास समिति र शिक्षा कार्यालयबाट प्राप्त भएका आठ हजार पुस्तकहरू थिए । कता छन् अहिले थाहा छैन । यसमा स्थानीय माधवमणि साजभण्डारीको ठूलो सहयोग रहेको छ ।’’ 

त्यस बेला यो पुस्तकालय यति प्रख्यात थियो कि उत्तर कोरिया, जर्मन, चाइना, बेइजिङलगायतका मुलुकबाट पत्रिका आउँथ्यो । कार्यवाहक अध्यक्ष जोशीले भन्नु भयो, पुस्तकालय सार्दा सार्दा थकित भएपछि स्थानीय ज्ञानकृष्ण श्रेष्ठले दान दिनु भएको जग्गामा भवन बनेको थियो, जो भूकम्पले भत्कायो । 

जग्गादाता ज्ञानकृष्ण श्रेष्ठ, भरतबहादुर श्रेष्ठ, आत्माकृष्ण श्रेष्ठसमेतको पूर्ण सहयोग छउन्जेल पुस्तकालय राम्ररी सञ्चालन भयो । उहाँहरूले छोडेपछि पुस्तकालयको बेहाल भएको उहाँले स्पष्ट पार्नुभयो । 

मुलुकमा लोकतन्त्र गणतन्त्र र सङ्घीयता आयो तर कोही कसैबाट पनि जेठो पुस्तकालयको चासोसम्म पनि भएन । उहाँले भन्नुभयो, भएको जग्गा अपुग छ । जगा खोजेर पुस्तकालय पुनः सञ्चालन गरौँ भनी आवाज उठाएको छु । त्यत्ति सुनुवाइ भएको भने छैन । पुस्तकालयको जायजेथा खोजेर पुनः सञ्चालन गर्न लागिपर्छु । सबैको सहयोगको अपेक्षा गरेको छु । 

वडाध्यक्ष स्टालिन श्रेष्ठले पुस्तकालयको चासो बढेको जानकारी दिँदै भन्नुभयो, ‘‘पुस्तकालयको जायजेथा खोज्छु । पुस्तकहरू घरेलु तथा साना उद्योग विकास कार्यालयको कोठामा राखिएको भन्नेसम्म जानकारी आएको छ । खोजविन गरी पुस्तकालयको सम्पत्ति सुरक्षित गर्नतिर लाग्नेछु । उचित जग्गा खोजेर पुस्तकालय पुनः सञ्चालन गर्न पहल गरिहरेको पनि छु ।’’