• १३ असोज २०८१, आइतबार

राप्ती नदी सरसफाइ प्रभावकारी बन्दै

blog

नारायणगढ समाचारदाता 

भरतपुर, माघ २१ गते । चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको तटीय क्षेत्र सरसफाइ अभियान चार सय हप्तामा पुगेको छ। 

चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको तटीय क्षेत्रमा हुने फोहोरको सरसफाइ गर्दै नदीलाई स्वच्छ राख्नु अभियानको मुख्य उद्देश्य हो। अभियानबाट नदी स्वच्छ हुँदै जलचरको बासस्थानमा सुधार आएको अभियानका अध्यक्ष अपिल घिमिरेले बताउनुभयो। अध्यक्ष घिमिरेले भन्नुभयो, “घडियाल गोही, कछुवा, माछाजस्ता जलचरलाई मात्रै होइन, निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता जनावरलाई पनि स्वच्छ पानी खुवाउने दायित्व हाम्रै हो भन्ने सम्झेर नै यो अभियान थालेका हौँ।”

“नदीमा माछा मार्न राखेको तयारी जालमा फसेर छटपटाइरहेका धेरै घडियालको उद्धार गरिएको छ,” उहाँले भन्नुभयो। विशेष त नदीमा सोझै जाने प्लास्टिकजन्य फोहोर पानीको तल्लो भागमा जमेर बस्ने र त्यहाँ गोही माछाका लागि चाहिने लेउ लाग्दा त्यही लेउसँगै प्लास्टिकसमेत माछा तथा गोहीहरूले खाने गरेको पाइन्छ। 

जलचर विज्ञ वेदबहादुर खड्काका अनुसार भारतमा मगर गोही र घडियाल गोहीको मृत्युपछि पेटमा प्लास्टिक भेटिएको देखिएको छ।  

निकुञ्ज घुम्न आउने पर्यटकले फालेका खानेकुराका प्याकिङ गरेका प्लास्टिकका खोलले समेत वन्यजन्तुलाई असर पारिरहेको उहाँले बताउनुभयो। हप्तामा १० बोराको हाराहारीमा फोहोर र ७५ हजार टन प्लास्टिक तथा सिसाजन्य फोहोर सङ्कलन गरिएको अभियानकर्ताको भनाइ छ। 

कतिपय नदीमा सोझै ढलसमेत ल्याएर नदीमा फाल्ने परम्परा भए पनि अहिले राप्ती नदीमा यस्तो गलत परम्परा रोक्न अभियानले जनचेतनासमेत जगाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले नदीमा फोहोर फाल्नु अपराध भएको बताउनुभयो। 

गोरखापत्रकर्मी  सम्मानित 

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले गोरखापत्रकर्मी वसन्त पराजुलीलाई सम्मानित गरेको छ। समाचारका माध्यमबाट वातवरणीय सुधार र नदी सरसफाइका क्षेत्रमा पु-याउनुभएको योगदानको मूल्याङ्कन गर्दै दुई दशक लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पराजुलीलाई सम्मान गरिएको जनाइएको छ। कार्यक्रममा राष्ट्रिय समाचार समितिका संवाददाता आनन्द पोख्रेललाई पनि सम्मान गरिएको थियो।