वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सो क्षेत्रबाट मनसुन बाहिरिएको र बाँकी भूभागबाट पनि केही दिनमा बाहिरिने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार मनसुनी प्रणालीको असर लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा अझै केही दिन रहने देखिन्छ । नेपालमा गत जेठ ३१ गते मनसुन भित्रिएको थियो तर करिब एक सातापछि मात्रै देशभरि फैलिएको थियो । गत सोमबार असोज १५ गते नै मनसुन बाहिरिने अनुमान गरिएकोमा यस वर्ष केही ढिला गरी मनसुन बाहिरिन लागेको हो ।
नेपाल–बेलायतबिच मैत्री सन्धि भएको शतवार्षिकीको अवसरमा स्कटल्यान्डको एडिनबरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बेलायतस्थित नेपाली राजदूतावास र बेलायतको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना तथा रोयल बोटानिक गार्डेन र ब्रिटिस काउन्सिलको सहकार्यमा सम्पन्न कार्यक्रममा गत एक सय वर्षमा जलवायु परिवर्तनबाट नेपालको जैविक विविधता, भूगोल, अर्थतन्त्र र जनजीवनमा परेको प्रभाव र यसलाई न्यूनीकरण गर्न अपनाइएको प्रयासहरू र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामाथि छलफल भएको थियो ।
इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । समाचार एजेन्सीहरूका अनुसार प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमण र त्यसको प्रतिशोधमा इजरायलबाट भएको जवाफी आक्रमणमा परी दुवैतर्फका गरी करिब तीन सय जनाको मृत्यु भएको छ । झन्डै एक हजार घाइते भएको अनुमान गरिएको छ । नेपाल सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको घोर भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस महत्वपूर्ण घडीमा, नेपालले इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ ।
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्। बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २:३० बजे नेपाल आइपुगेका हुन्। जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए। अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन्।
बर्दिबास नगरपालिका –३ स्थित कालापानीमा धानका बोट पहेंलिने र गुभा सुक्ने रोग देखापरेपछि किसान चिन्तित बनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गर्नुभएको छ । अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले शनिवार साँझ शीतलनिवासमा भेट गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा राजविराज नगरपालिका कार्यालय र तीनै तहका सुरक्षा संयन्त्र टोलीसहित शनिबार छिन्नमस्ता मन्दिरको परिसर र पोखरी सरसफाइ गरेका छन् ।
सभामुख देवराज घिमिरेले राज्यका निकायबाट हुन सक्ने अवैधानिक निर्णयको वातावरण आउनै नदिनका लागि भूमिका खेल्न पत्रकारलाई आह्वान गर्नुभएको छ ।नुवाकोट-काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम’मा उहाँले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै भन्नुपर्ने बताउनुभयो ।
कबिराज घिमिरे हिले, असोज १९ गते । दशैं लगायत चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तीव्रता दिएको छ।जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र राष्ट्रिय उपभोक्ता संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीव्रता दिएका हुन्। अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्न सुरु गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमन तीब्र पारिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।अनुगमनको क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.–६ स्थित सिँधुवा बजारमा खुद्र तथा किराना पसल अनुगमन गरेको छ। बजारका आधा दर्जनभन्दा बढी खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरी ५५ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको छ। बजारका अधिकांश खुद्रा तथा किराना पसलमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका थिए। अनुगमनका क्रममा म्याद गुज्रेकामा खानेकुरा र पेयपदार्थ पाइएको थियो। उक्त म्याद गुज्रेका खाद्यबस्तुहरु जफत गरी स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा नस्ट गरिएको छ। म्याद गुज्रेका खाद्यबस्तु आगामी दिनमा नवेच्न सुझाव तथा चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अंकित मग्रातीले बताउनुभयो। प्रशासनले धनकुटाका अन्य बजारमा पनि अनुगमन गरी म्याद गुज्रेका सामान नष्ट गर्ने जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताउनुभएको छ ।
शेरबहादुर राई ओखलढुङ्गा, असोज २० गते । अस्पतालको लापरबाहीले शिशुको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । ओखलढुङ्गा सामुदायिक अस्तपालको उपचारत शिशुको अस्पतालको लापरबाहीका कारण ज्यान गएको जनाउदै आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरेका हुन् । सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे ज्यान गएको थियो । अस्पतालको लापरबाहीका कारण शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध जनाएका छन् । पिसाब रोकिएर सिकिस्त विरामी भएपछि शुक्रबार आफन्तले बालिकालाई ओखलढुङ्गा सामुदायिक अस्पतालको इमर्जेन्सी कक्षमा पु¥याएका थिए । शिशुलाई सामान्य चेकजाँच पनि नगरीे चिकित्सकले बहिरंग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालले बताउनुभयो । बहिरंग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः इमर्जेन्सी कक्षमै राखेर उपचार गर्न भनेपछि इमर्जेन्सी कक्षमा लगिएको दाहालले बताउनुभयो । ‘इमर्जेन्सी कक्षमा पु¥याउदा बच्चाको स्वासप्रस्वासमा गम्भिर समस्या भईसकेको थियो’ दाहालका आफन्त देबकुमार दाहालले बताउनुभयो । बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भएपनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाई छ । मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकहरुमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने लगायतका माग राख्दै विरोध जनाएका छन् । अस्पतालका निर्देशक डा. रोशन खरेलले यस बिषयमा प्रशासनमा छलफल भइरहेको र छानबिनको तयारी भइरहेको बताउनुभयो । अस्पताल प्रशासन, मृतक शिशुका आफन्त, प्रहरी र सरोकारवालाहरुबीच छलफल भईरहेको डा.खरेलको जानकारी दिनुभयो।
वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता भएको छ । दुवै देशका विद्वानलाई सहभागी गराएर नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको वास्तुसम्बन्धी छ हप्ते गोष्ठी समापनका अवसरमा आज विश्वविद्यालयबीच सम्झौता भएको हो ।
फडिन्द्र अधिकारीलेखनाथ, असोज २० गते। आम निर्वाचन भएको करिब ९ महिनापछि गण्डकी प्रदेशसभाका चार वटा विषयगत समितिले नेतृत्व पाएका छन् । नेपाली काङ्ग्रेसले दुई, नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक समितिका सभापति लिने सहमतिअनुसार शनिबार उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परेसँगै निर्विरोध सभापति चयन हुने निश्चित भएको हो । अर्थ तथा विकास समिति सभापतिमा भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समिति सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । अर्याल र खड्का नेपाली काङ्ग्रेसका सांसद हुनुहुन्छ ।लेखा समितिको सभापतिमा एमालेका सुधीरुकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित हुनुभएको हो । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापति चयन बाँकी थियो । प्रदेशसभा सचिवालयको कार्यक्रम अनुसार सभापति चयनको औपचारिक घोषणा भने आइतबार हुने सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
कर्मयोगी बद्रीविक्रम थापाको नाममा स्थापित ‘कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार–२०८०’ बाट साहित्यकार डा. नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषी सम्मानति हुनुभएको छ ।