• १३ साउन २०८१, आइतबार

‘सुखानी काण्ड’को ५० वर्ष– झापा विद्रोहको सम्झना

blog

सुखानी पार्कमा नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ । तस्बिर: विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २१ गते । फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना सहिद बन्नु भएको थियो ।

झापा र इलामको संगमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिन ५० वर्ष पुगेको हो । रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको थियो । 

झापाका केही कम्युनिस्टहरूले वर्ग शत्रु खत्तम अभियान चलाएका थिए । वर्ग शत्रु खत्तम अभियान अन्तर्गत बि.स.२०२८ साल जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिर गडीका एक जमिनदारको हत्या भएको थियो । झापा विद्रोहको सुरुवात यहीबाट भएको जानकारहरू बताउँछन् ।

सुखानी हत्याकाण्डले परिचित ५ जनाको हत्या भएको बर्षौपछि मात्र सहिद घोषणा गरिएको थियो । झापा विद्रोहको क्रममा लामो समय जेल जीवन बिताउनु भएका हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले उनीहरूलाई शहीद घोषणा गरेको थियो ।

सरकारले झापा विद्रोहकै क्रममा मारिएका चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाल लगायत २२ जनालाई शहीद घोषणा गरेको थियो । अहिले सुखानीमा शहीद स्मारक बनाएर राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गरिँदै लगेको पाइन्छ ।

वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए । सो आन्दोलनमा सहभागी संविधान सभा सदस्य समेत बनिसक्नु भएका एमाले नेता मनकुमार गौतमका अनुसार त्यो समय पञ्चायती शासन विरुद्ध विद्रोह गर्नु धेरै नै चुनौती र काष्ठप्रद रहेको थियो ।

सो समय झापा विद्रोहमा लागेका कारण नै गौतमले १८ वर्ष कारागार जीवन पनि बिताउनु भएको थियो । त्यो समय आफूहरूले पञ्चायतको शोषण, दमन र अत्याचारको विरुद्ध राष्ट्रिय स्वतन्त्रता, स्वधिनता तथा जनकेन्द्रीयता लागु गराउन गरिएको आन्दोलन भएको बताउनु भएको छ । वि. सं. २०२९ सालमा पक्राउ परेका मनकुमार गौतम ०४६ पुस १९ गते जेल मुक्त हुनु भएको थियो ।

उहाँका अनुसार झापाको चन्द्रगढी कारागारको ५ नम्बर कोठामा आफूहरूलाई लगेर थुनिएको र यहीबाट केही साथीहरूलाई लगेर हत्या गरिएको हो । हामी मध्येका पाँच जना साथीलाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने निहुँ पारेर सुखानीमा १२-१२ राउन्ड गोली हानी बीभत्स हत्या गरेको हो, उहाँले भन्नुभयो । 

कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने उद्देश्यले उहाँहरूको हत्या भएको थियो र उक्त हत्या गरेर हामीलाई तर्साउन खोजिएको थियो, गौतमको भनाई थियो । आज त्यही जगमा उभिएर पञ्चायत मात्र हैन तानशाही राजतन्त्रको पनि अन्त्य भएको छ, गौतमको भनाई छ । जानु अघि आफूहरूको हत्या हुँदैछ भनेर साथीहरूले भन्नु भएको थियो, गौतमले सो समयको स्मरण सुनाउनु भयो । 

झापा आन्दोलनका अर्का जिउँदा इतिहास विष्णु प्रसाईँका अनुसार आफूहरूसँगै पञ्चायत विरुद्ध लडेका साथीहरूको जेल सार्ने बहानामा लगेर हत्या गरेको र आफूहरूलाई मलामी जान समेत नदिएको बताउनु हुन्छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख प्रसाईँले त्यो फागुन २१ को घटना क्रूरताको पराकाष्ठा भएको बताउनु हुन्छ ।

सो घटना पछि हामी जेल बाहिर भएकाले हामीलाई चुनौती थपिएपछि त्यस बेला म लगायत हामी केही साथीहरूले भारत गएर आफ्नो ज्यान जोगायौ, उहाँले भन्नुभयो । २०३० सालमा केपी ओली पनि जेल पर्नु भएको र उहाँलाई पनि जेल सार्ने नाटक गरेर मार्ने प्रयास गरिएको प्रसाईँले बताउनु भयो । तर भाग्यले भन्नुपर्छ उहाँ बाच्नु भयो, प्रसाईँले भन्नुभयो ।