कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन २१ गते । रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न ६४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको मतपरिणाम आज (आइतबार) आएको हो । सङ्घको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार १०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी विजय पाण्डेले ६८७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिनुभयो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्यले एक हजार २५५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी अरुणकुमार गोयनकाले ५४७ मत प्राप्त गर्नुभयो । वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली एक हजार १२३ मत प्राप्त गरी विजयी हुँदा सोही पदका अर्का उम्मेदवार रविकुमार श्रेष्ठले ६४३ मत प्राप्त गर्नुभयो ।
उद्योग उपाध्यक्षमा दिलीपकुमार कान्दु ८९४ मत ल्याई निर्वाचित हुनुभएको छ भने हरिबहादुर थापाले ८७३ मत मात्रै प्राप्त गर्नुभयो । महासचिवमा कृष्णप्रसाद घिमिरे ९६१ मत प्राप्त गर्दा गोपाल भण्डारीले ८०४ मत पाउनुभयो ।
कोषाध्यक्षमा कमलप्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी हुँदा गौरव श्रेष्ठले ५१८ पाउनुभयो । सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत पाउनुभएको थियो । सचिवमा मङ्गल भण्डारी ९९२ मत ल्याइ विजयी हुनुभयो भने धर्मवीर शर्माले ७७९ मत पाउनुभयो ।
यस्तै, वस्तुगत सदस्यमा प्रीतम रौनियार, उद्योगतर्फ खुला सदस्यहरूमा ओम जैसी (१२४१), रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ विजयी हुनुभयो ।
वाणिज्यतर्फ खुला सदस्यमा अर्जुन कार्की (१२१०), प्रमोद रिजाल (१३०१), विशाल जैसवाल (१२८३), कृष्णप्रसाद अधिकारी (१२७६), वीरेन्द्र ज्ञवाली (१०७५), दिनेशमान अमात्य (१२४६), अभिनव मयुर कसौधन (१२७१), धर्मराज आचार्य (१३७८) मिना पन्थी (१४२८) र विजय अधिकारी (१३०७) मत ल्याइ विजयी हुनुभएको छ ।
कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सह कोषाध्यक्षमा सञ्जयकुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले जानकारी दिनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा दुई हजार १९३ जना मतदातामध्ये एक हजार ८२८ जनाले मतदाता निर्वाचन प्रक्रियामा भाग लिएका थिए ।