युगयुगान्तदेखि रहेको
यो आकाशको चोक्टो मुन्याड रहिबसेर
जब मः
एउटा पुस्तक पढ्छु,
एउटा गीत भुत्भुताउँछु,
एउटा कविता कोर्छु,
या एउटा अमुक चित्रकथाको फोटो खिच्छु;
एउटा चिसो रङ मेरो मुटुमा छाउँछ,
एउटा तातो हत्केलाले मेरो आँखा छोप्छ,
एउटा उदाङ्गो बाहुपास मलाई समेट्न आइपुग्छ ।
तब,
मेरा अन्तरचेतना र अनुभूतिहरू
मठ बनिदिन्छन्,
घाट बनिदिन्छन्,
ध्वजापताका बनिदिन्छन्.. ।
र, म आनन्दको मुकुट पहिरिएर
प्रेमका फूलपात र हाँगाबिँगाहरू बटुलिरहन्छु ।
तत्कालै मविरुद्ध,
धरतीका तमासाहरू मसान भाँती जगमगाउँछन्,
मानव खोपडीहरू मकै पड्किएसरह पड्किन थाल्छन् ।
यस धरतीमा,
एउटा आँखा ओरालो लाग्दै जान्छ र
हाहाकारको भीरबाट हामफाल्छ ।
अर्को आँखा उकालो चढ्दै जान्छ र
कल्पनाको काँधमा चढेर मुतिदिन्छ ।
नाक अघि सर्छ– रूपवती रहस्यको वासनामा
चुर्लुम्म डुबेर गुह्येकीरो भइखान्छ ।
कान कोल्टे फेर्छ– लुते कुकुरसरह
ढललाई च्यापेर निदाइदिन्छ ।
जिब्रो म्वाइँ खान्छ दाँतलाई र
गिजा खोतलेर मुखभित्र खटिरा निकालिदिन्छ ।
क्रमशः हातगोडाको स्वार्थपरक ढोगभेट चलिरहन्छ ।
र, एउटा धरती फेरि दुईवटा हुन्छ.. ।
पुस्तक पढ्ने क्रम रोकिन्छ,
गीत गलपासो बन्छ,
कविता शीतसरह बज्रन्छ र टुट्छ !
चित्रकथा खेस्रा बन्छ र च्यातिन्छ ।
हाडलाई सङ्ग्रहालयमा र
अस्तुलाई स्तूपमा राखेर
मानवधर्मका कुरा गर्नेहरूले
प्रजातन्त्रको धार यसरी चम्काएका छन् कि
हरप्रहर एउटा विनम्र भाव
यहाँ अचानो बनिरहनुपर्छ ।