• ५ मंसिर २०८२, शुक्रबार

अमेरिकी राजदूत थम्पसन धौलागिरी प्रादेशिक अस्पतालमा

blog

धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अवलोकन गर्नुहुँदै अमेरिकी राजदूत डिन आर थम्पसन । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ५ गते ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भइरहेको बताउनुभएको छ । उहाँले धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अवलोकन भ्रमणको क्रममा आमा र शिशुको स्वास्थ्यको क्षेत्रमा परिवर्तनहरु देखापरेको बताउनुभयो ।

अस्पतालमा आउनुभएका राजदूत थम्पसनसहितको टोलीले अस्पतालको मातृशिशु तथा नवजात स्वास्थ्य सेवाको गुणस्तरबारे चासो लिनुभएको थियो । भ्रमण दलमा जेनक्रिल थम्पसन, दक्षिण एसियाका लागि क्षेत्रीय वातावरण अधिकृत प्याट्रिक एस गान, वरिष्ठ परियोजना व्यवस्थापनक नुर पन्त, वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ इभाना लाहोर, अमेरिकी दूतावासका इमिला र नेपालका कन्ट्री डाइरेक्टर भगवान श्रेष्ठ सहभागि हुनुहुन्थ्यो ।

टोलीलाई अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले स्वागत गर्दै अस्पतालमा भएको सुधारबारे जानकारी गराउनुभएको थियो । युएसएडको सहयोगमा बागलुङमा सञ्चालित पिपिएच, लेवर कियर गाइड, स्मल एण्ड सिट न्युबर्न प्याकेज, एनपिडिएसआर जस्ता तालिम कार्यक्रमले पनि आमा र शिशुको स्वास्थ्य क्षेत्रमा सुधार आएको जानकारी गराइएको थियो । पछिल्लो समय नेपालमा युएसएडको अनुदान बन्द भएको छ । तर उक्त अनुदानले स्वास्थ्य सुधारको क्षेत्रमा पुगेको योगदानलाई राजदूत थम्पसनले प्रशंसा गर्दै आगामी दिनमा पनि यो सहयोग ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

समग्र स्वास्थ्य क्षेत्रमा सहयोग आउन छाडेपछि दूतावासमार्फत आमा र बच्चाको स्वास्थ्य सुधारका लागि आयोजित स्वास्थ्यकर्मीको तालिममा दूतावासले सहयोग गरेको थियो । यस्ता सहयोगलाई अझै बढाएर मातृशिशु क्षेत्रमा सुधार गर्न सकिन्छ भनेर राजदूतसहितका टोली सहमत भएको अस्पतालका प्रमुख डा. तिवारीले बताउनुभयो ।

राजदूत थम्पसनसहितको टोलीले अस्पतालको तालिम हल, सेवाका अन्य विभाग पनि अवलोकन गरेको थियो । अस्पतालको हालका कार्यक्रमबारे अस्पतालका नर्सिङ प्रशासक शान्ति पौडेल र नर्सिङ अधिकृत अजिता सिलवालले जानकारी गराउनुभएको थियो ।