‘ए ज्ञानिचा तँ किन झ्यालमा मात्रै बसेकी हँ ? खुरुक्क भित्र गएर भान्सामा आमालाई सघाइदे ।’ नारानमान अर्थात् नारायणमानले छोरीलाई भन्यो ।
‘भर्खरै आएको बा, आमाले नै पठाको ।’ ज्ञानिचा अर्थात् ज्ञानीमायाले भनी । ‘मलाई था’छ, तँ आजकल धेरै नै झ्यालमा बस्ने गरेकी छस् । खुरुक्क गई हाल् । नारानमानले रिसाउँदै आदेश दियो ।
‘यो बा पनि ।’ यति भन्दै र रिसाएर भुइँमा गोडा बजार्दै ज्ञानिचा भान्छा कोठातिर गई ।
नारानमान एक्लै फत्फताउन थाल्यो, ‘यो ज्ञानिचा मलाई केही पनि था’छैन जस्तो गर्छे । आशालाल आउने बेला भयो होला अनि झ्यालमा बसेकी ।’
नभन्दै त्यही बखत नारानमानले देखिहाल्यो कि उसको घरको झ्यालतिर हेर्दैहेर्दै आशालाल जाँदै थियो । त्यसपछि उसलाई निकै रिस उठ्यो । उसलाई भन्न मन लाग्यो कि, ‘ए गुन्डा ! किन मेरो घरको झ्यालतिर मात्रै हेर्छस् ? तेरो केही काम छैन ? अर्काको घरको झ्यालतिर हेर्न लाज पनि नभाको । कामधाम छैन, दिनभर टोलटोलमा घुमिरन्छ ।’ तर उसले त्यसो भन्न सकेन र मनमनै रिसायो मात्रै । वास्तवमा नारानमानले आशालाललाई त्यसो भनिहाल्नु ठिक थिएन । किनभने आशालाल अरू कोही नभएर पल्लो टोलमा बस्ने नारानमानकै साथी बेखालालको छोरा थियो । बेखालाल र नारानमान एउटै विद्यालयमा पढेका थिए । बेखालाल विद्यालयमा पनि निकै गफाडी र चलाख थियो ।
एक दिन बिहानको कुरा हो, नारानमान घरबाट निस्केर पल्लो चोकमा दुध लिन जाँदैथियो, त्यहीबेला उसलाई पानीट्याङ्कीले पछाडिबाट धक्का दिँदा उसको दायाँ गोडाको गोलिगाँठो र त्यसभन्दा माथिको भाग पनि भाँचिदिएपछि ऊ दुई हप्ता अस्पतालमा र झन्डै तीन महिना घरमै बस्नु प¥यो । उसको गोडा पूरै बिसेक हुन छ सात महिना नै लाग्यो । त्यसपछि उसले हिँड्दा अलि अलि गोडा खोच्याएरै हिँड्नुपर्ने भयो । त्यो घटनापछि नारानमान विद्यालय जान छोडिदियो । गोडा खोच्याउँदै विद्यालय जान उसलाई कत्ति पनि मन परेन । किनभने सबैले लङ्गडो भन्छन् भन्ने पिर लाग्यो उसलाई ।
केही वर्षपछि नारानमानलाई उसको बाबुले एउटा मारवाडीको कपडा पसलमा काममा लगाइदिए । ऊ दिनभर कपडा बेच्थ्यो र बेलुका हरहिसाब साहुलाई बुझाएर घर फर्किन्थ्योे । नियमित र इमानदारपूर्वक काम गथ्र्यो नारानमान । उसको इमानदारिता देखेर पसल उसैको जिम्मा लगाएको थियो साहुले । आज ऊ कामबाट घर आउँदा ज्ञानिचालाई झ्यालमा बसिरहेको देखेपछि उसलाई रिस उठेको थियो ।
यता बेखालालले आइए तेस्रो डिभिजनमा पास गरेर पनि भन्सारमा खरदार भयो । जागिरको सिलसिलामा ऊ राजधानी बाहिरका भन्सार कार्यालयहरूमा गयो । प्रशस्त धन कमाएपछि टोलमा सबैभन्दा अग्लो घर बनाएर सानसँग बस्यो । टोलवासीहरू उसको घरलाई भन्थे, ‘खरदार बेखाको दरबार !’ हो, उही खरदार बेखालालकै छोरा थियो आशालाल । ज्ञानीमाया ठुस्स पर्दै डाइनिङ टेबलमा बसेर मन नलागी नलागी धनियाँ केलाउन थाली । छोरीको त्यस्तो अनुहार देखेर शोभामायाले सोधी– ‘किन रिसाएकी, अनुहार पनि कस्तो कस्तो ?’
‘बाले गाली गरे, त्यसै पनि ।’ ज्ञानीमायाले रुन्चे स्वरमा भनी । ‘तँलाई झ्यालमा बसेको देखे होलान् अनि, बाले नबस् भनेपछि मान्नु पर्छ नि ?’ शोभामायाले सम्झाई ।
‘किन ? म झ्यालमा बस्नै नहुने ? घरमा भुइँचालो नै जान्छ कि के हो ?’ ज्ञानीमाया रिसाउँदै ठुलो स्वरमा भनी । ‘बालाई मन नपरेको काम किन गर्छेस् । तँलाई त्यहीँ बस्नु पर्छ भन्ने के छ ? बरु कोठामै टिभी हेरेर बसे हुन्छ । साँच्चै भन्ने हो भने हिजोआज मलाई पनि मन परेको छैन तँ झ्यालमा बसेको । तरुनी भएकी छोरीचेली त्यसरी झ्यालमा बसिरहँदा वरपरकाले हाम्रो कुरा काट्छन् । उहिले हामी त झ्यालमा फुपू, दिदी र आमासँग मात्रै बस्न पाउँथ्यौँ ।’ शोभामायाले आफ्नो पालाको कुरा भनी ।
‘त्यो झ्यालमा बस्न नहुने भए झ्याल किन
राख्या ? भोलि नै टालिदिनू ।’ त्यति भनेर ज्ञानीमाया जुरुक्क उठेर फन्किँदै कोठातिर गई ।
आज पहिलो पटक छोरी ज्ञानीमायाको त्यो व्यवहार देखेर छक्क परी शोभामाया पनि ।
ज्ञानीमाया बाह्र कक्षाको दोस्रो वर्षमा पढ्दै थिई । ऊ बिहानको क्याम्पसमा पढ्थी । त्यसैले ऊ घर आउँदा दिनको एघार बजिसक्थ्यो । कहिलेकाहीँ बाह्र पनि बज्थ्यो । यता केही दिनदेखि ज्ञानीमाया क्याम्पसबाट घर आएर खाना खाएपछि केहीबेर झ्यालमा बस्ने गरेकी थिई । मुख्य सडकतर्पmको झ्याल थियो । बाहिर बजारको चहल पहल, सडकमा मान्छेहरूको आवत जावत र कहिलेकाहीँ जुलुस पनि त्यहीँबाट आउँथ्यो ।
विद्यालय पढुन्जेल ज्ञानीमाया साँच्चिकै ज्ञानी थिई । विद्यालयबाट आएपछि पनि पढ्नमा नै व्यस्त हुन्थी । नाम पनि ज्ञानी र व्यवहार पनि ज्ञानी नै थियो । जब ऊ एघार पास गरेर बाह्रमा पढ्न थाली उसको आनिबानीमा पनि विस्तारै परिवर्तन आउन थाल्यो । छोरीमा आएको त्यस किसिमको परिवर्तनलाई दुवै पतिपत्नी नारानमान र शोभामायाले नियालिरहेका थिए ।
ज्ञानीमाया परिवारमा एक्ली छोरी थिई । नारानमान र शोभामायाको बिहे भएको पाँच वर्षसम्म पनि कुनै जायजन्म भएन । बिहे गरेको वर्षदिन भएपछि नारानमानकी आमाले छोराको सन्तान नभएकोमा चिन्ता व्यक्त गर्न थालेकी थिइन् । एक दिन एकान्तमा नारानमानलाई आमाले भनिन्, ‘नारान, खोई तेरी शोभाले बच्चा पाउली जस्तो छाँटकाँट देख्दिनँ म, अर्को बिहे गर्नु पर्छ कि के हो ? तँसँगै बिहे गरेको हाकुलालकी स्वास्नीले छोरा पाइसकी । तेरो चाहिँ खै के हो के हो ?
आमाले एक्कासि शोभालाई सौता हाल्ने कुरा सुनेर नारानमान एकछिन छक्क प¥यो । अनि भन्यो, ‘आमा, किन त्यस्तो कुरा गरेको ? कसैले सुने भने के भन्लान् ? अझ शोभाले... अहिले नै के हतार छ र । यस्तो कुरा गर्ने बेला भइसकेको छैन ।’
नारानमानले शोभामायालाई भगाएर प्रेम विवाह गरेको थियो । शोभामाया पनि परिवारमा एक्ली छोरी थिई । तीन दाजुहरूकी एक मात्र बहिनी थिई शोभामाया । नारानमानसँग भागेर बिहे गरे पनि उसको माइतीले नारानमान र उसलाई नराम्रो व्यवहार गरेका थिएनन् । नारानमानदेखि उसको परिवार पनि खुसी नै थिए । एक्लो छोरा थियो नारानमान । चाँडै सन्तान भएनन् भन्दैमा शोभामायालाई सौता हाल्ने पक्षमा थिएन नारानमान । कहिलेकाहीँ उसको मनमा सन्तान चाहिन्छ नै भन्ने अनिवार्य के छ र ? भन्ने पनि लाग्थ्यो ।
एक दिन नारानमानले शोभालाई लिएर प्रसूतिविशेषज्ञ डाक्टरलाई देखायो । रिपोर्टमा खासै खराबी थिएन । त्यसपछि आपूmले पनि अस्पतालमा गएर देखायो । रिपोर्ट ठिकै आएको थियो । सन्तान चाहिँ भएका थिएनन् । बिहे गरेको तीन वर्षपछि उसको बाबु, आमा र दिदीले नारानमानलाई अब त दोस्रो बिहे गर्नै पर्छ भनेर रातदिन कचकच गर्न र दबाब दिन थाले । त्यसपछि नारानमान ठुलो द्विविधामा प¥यो । आपूmले मन पराएर त्यसमा पनि भगाएर बिहे गरेकी स्वास्नीमाथि कसरी सौता हाल्नु भन्ने प्रश्नले उसलाई दिनरात सताउन थाल्यो । उता आपूmले सन्तान जन्माउन नसकेकोमा शोभामाया पनि चिन्ताग्रस्त थिई । नारानमान शोभालाई निकै माया गर्दथ्यो । उसले एक दिन आमाबाबुलाई आपूm कुनै हालतमा पनि दोस्रो बिहे नगर्ने भन्ने निर्णय सुनायो । शोभामाया सासूससुराको निकै हेरविचार गर्दथी । उनीहरूको हरेक इच्छालाई सकेसम्म पूरा गरिदिन्थी र सधँै हाँसीखुसी देखिन्थी । ऊ एउटी असल बुहारीको उदाहरण बनेकी थिई टोलछिमेकमा पनि ।
अन्ततः बिहे गरेको पाँच वर्षपछि शोभामायाको गर्भमा ज्ञानीमाया आई । ज्ञानीमाया जन्मेको दिन नारानमानकी आमा र बाबु दुवै निकै खुसी भएर टोलभरि मिठाई बाँडेका थिए । ज्ञानीमायाको जन्मपछि शोभामायाबाट फेरि अर्को सन्तान भएनन् । उनीहरूले एउटै छोरीमा चित्त बुझाउनुपरेको थियो ।
अब ज्ञानीमाया बाह्र कक्षामा पढ्ने भइसकेकी थिई । एक दिन नारानमान कामबाट घर आइरहेको थियो । उसले छोरी ज्ञानीमाया र आशालाल उसकै घरको ढोकामा उभिएर कुरा गरिरहेको देख्यो । बाबुलाई आइरहेको टाढैबाट देखेर ज्ञानीमाया लुसुक्क घरभित्र पसेकी थिई र आशालाल पछिल्तिर फर्केर पनि नहेरी गएको थियो । त्यो देखेर नारानमानको मनमा शङ्का टुसायो । उसलाई छोरीसँग भन्दा पनि आशालालसँग रिस उठ्यो ।
नरानमान घरमा गयो । उसले केही थाहा नपाएको जस्तो गरी सोध्यो, ‘ज्ञानिचा, तेरो पढाइ कस्तो छ ? परीक्षा कहिले हुन्छ ?’ ‘ठिकै छ, दोस्रो सेमेस्टर भर्खर सकियो ।’ ज्ञानीमायाले पनि केही थाहा नपाए जस्तो गरी सहज भएर जवाफ दिई ।
‘पढाइमा धेरै ध्यान दिनु प¥यो, यताउता अल्मलिनु भएन ।’ नारानमानले घुमाउरो भाषामा भनेको कुरा ज्ञानीमायाले बुझिसकेकी थिई तर पनि उसले कुनै जवाफ दिइन र उठेर बैठक कोठातिर गई । ‘एक पटकलाई माफी, फेरि पनि आशालालसँग देखेँ भने के गर्छु भन्न सक्दिनँ ।’ नारानमानले मनमनै भन्यो ।
नारानमानलाई चिन्ता थियो कि सन्तानकी एक मात्र छोरी । केही गरी कसैले फकाएर विचल्लीमा पारिदियो भने वर्वादै हुन्छ । ज्ञानीमाया सोझी थिई । जसले जे भने पनि पत्याइहाल्ने । उसको सपना थियो कि छोरीलाई जतिसक्यो पढाउने र एउटा असल केटो खोजेर बिहे गरिदिने । ऊ ज्ञानीमायालाई अरूले जस्तो विदेशतिर पठाउन चाहन्थेन । किनभने उसकै टोलको अष्टमानकी छोरी अमेरिका गएकी थिई, त्यहीँको गोराले मन पराएर बिहे गरेछ । बिहे गरेको दुई वर्ष पनि नबित्दै सम्बन्ध विच्छेद गरिदिएछ । अहिले छोरीको पिरले अष्टमान र उसकी श्रीमती डिप्रेसनमा परेका छन् । सधैँ नहाँसी कुरा नगर्ने र ख्याल ठट्टा गरिरहनुपर्ने अष्टमान अहिले कसैसँग कुराकानी गर्न चाहँदैन । अष्टमान र उसकी पत्नीको त्यो अवस्था देखेको नारानमानले छोरीलाई विदेश नपठाउने निश्चित गरेको थियो ।
आशालाल पल्लोटोलको बेखालालको एक्लो छोरा थियो । बेखालाल भन्सारको खरदार । उसले छोरीको बिहे पनि निकै धुमधामसँग गरेको थियो । बाबुले कमाइदिएको पैसामा मोजमस्ती गरेर हिँड्ने आशालाललाई नारानमान त्यति मन पर्दैनथ्यो । पढाइलाई बिचैमा छोडेर आशालाल दिनभर यसै बरालिएर हिँड्ने गर्दथ्यो । साथीहरूसँग कहिले कता कहिले कता जान्थ्यो । ऊ आपूmलाई नेता जस्तो ठान्थ्यो । कहिलेकाहीँ जुलुसमा नारा लगाउँदै हिँडेको पनि देखिन्थ्यो । ऊ कुन चाहिँ राजनीतिक दलको भ्रातृसंस्थामा सदस्य पनि छ रे भन्ने नारानमानले कताकता सुनेको थियो । एक दिनको कुरा हो नारानमान एउटा साथीको छोरीको बिहेमा गएको थियो । उसको साथीकी छोरीले अन्तरजातीय बिहे गरेकी थिई । अस्ट्रेलियामा पढ्न गएकी उसकी छोरीलाई उतै पढन गएको पहाडतिरको बाहुन केटाले मन पराएछ । त्यसपछि दुवैतर्पmको सहमतीमा बिहे गर्न उनीहरू आफ्नै देशमा आएका थिए । नारानमानलाई हिजोआज अन्तर्जातीय बिहे धेरै हुन थालेको कुरा थाहा नभएको होइन तर पनि ऊ किनकिन यसलाई त्यति राम्रो हो भन्ने पक्षमा थिएन । अलग परम्परा र अलग सांस्कृतिक परिवेशमा पक्कै पनि केही अप्ठ्यारो त हुन्छ नै । जातिपिच्छे नै जन्मदेखि दाहसंस्कारसम्म फरक पद्धति र परम्परा छ हाम्रो समाजमा । त्यसलाई स्वीकार्न व्यावहारिक कठिनाइ धेरै नै हुन्छन् । नारानमानको त्यस्तै
सोचाइ थियो ।
‘ए, शोभा ! नारानमान स्वास्नीलाई शोभा मात्र भनेर बोलाउँथ्यो । त्यो हिराकाजीको छोरीले त बाहुन केटासँग बिहे गरिछे । आज म उसैको बिहेभोजमा गएर आ’को । केटा असल र राम्रो पनि रहेछ । तर केटाभन्दा केटी चाहिँ त्यति राम्री होइन । तैपनि केटाले मन पराएपछि के लाग्छ । होइन त ?’
‘हो नि, प्रेम भएसी राम्री नराम्री कसले हेर्छ र ? मन परेपछि सकिगो । मैले पनि तिमीलाई मभन्दा राम्रो भएर चाहिँ मन पराएको होइन । तिमीले मन परायौ, अनि मैले मानेँ ।’ शोभामाया यति भन्दै बेस्सरी हाँस्न थाली ।
शोभामाया हाँसेको देखेर नारानमानले पनि भन्यो, ‘हो, मैले मन नपराएको भए तँ कसरी भागेर आउँथिस् र ?’ ‘साँच्चै भन्ने हो भने म राम्री भएकैले तिमीले मन परायौ, लोग्नेमान्छेको जात न हो । राम्री केटी देख्नै हुन्न ।’ आशामायाले फेरि भनी ।
‘ठिक भनिस्, सत्ते सत्ते आजसम्म तँलाई बाहेक अरूलाई बिर्सेर पनि हेरेको छैन । पहिलो र अन्तिम पनि तैँै होस् ।’ भन्दै नारानमान खित्का छाडेर हाँस्न थाल्यो । आज उसलाई बिहे भोजमा पिएको अलि अलि रक्सी लागेको थियो । ‘ल, तेरो मेरो कुरा छोडिदिऊँ, अब हाम्री ज्ञानीमायाको बारेमा सोच्नु अबेर गर्नुभएन ।’ नारानमानले भन्यो ।
‘के सोच्ने ? पहिले बाह्र कक्षा पास हुनु पर्छ भन्या होइन तिमी आपैmँले ?’
‘हो तर पनि । तँ आमा, मलाईभन्दा तँलाई पो छोरीको चिन्ता धेरै लाग्नुपर्ने ।’ नारानमानले भन्यो, ‘एउटा कुरा के भने नि त्यो बेलाखालको छोरा आशालाललाई मैले ज्ञानीमायासँग कुरा गरेको एक दुई पटक देखिसकेँ । ज्ञानीमाया हिजोआज झ्यालमा बसेर आशालाललाई पर्खेर बसे जस्तो लाग्छ । झ्यालमा नबस् भन्यो कि रिसाइहाल्छे । त्यो आशालाल मलाई पटक्कै मन पर्दैन । त्यसको बाउ धनी भएँ भनेर अहिले कसैलाई माखो पनि गन्दैन । मलाई त्यसको आनिबानी सबै थाहा छ ।’ ‘
धेरै शङ्का गर्नुहुन्न बुढा । हाम्री ज्ञानिचा त्यस्ती छैन । कहिलेकाहीँ अल्छी लाग्छ होला र झ्यालमा गएर बाहिरतिरको दृश्य हेर्छे होली । उमेर पनि त अल्लारे छ नि । मन चुलबुल हुने बेलै यही हो । हाम्रो पालाको जस्तो समय अब छैन नि । कसैको घरमा जानै नहुने, कोही केटामान्छेसँग बोल्नै नहुने । अब पुरानै कुरा कायम हुन्छ भन्ने छैन ।’ ‘ल, पछि आउने झमेलाको कुरा गर्दा मलाई पो शङ्का नगर बुढा भन्छे यो ।’ ‘अब मैले के गनुपर्ने हो तिमी नै भन ।’ आशामाया नारानमानलाई समास्या समाधान आपैmँ खोज भन्छे । ‘तैँले छोरीलाई राम्रोसँग सम्झा । बाबुले भनेको भन्दा आमाले भनेको मान्छन् छोरीहरू । पछि तलमाथि भयो भने मलाई दोष दिन पाउँदिनस्, भन्देको छु ।’ नारानमानले सारा दोष आशामायाको थाप्लोमा हालिदिने मनसाय ग¥यो ।
‘हो नि, छोराछोरी सप्रे भने आपूmले गर्दा, बिग्रे भने आमाले गर्दा भन्ने त लोग्नेमान्छेको अधिकार नै हो नि ।’ आशामायाले व्यङ्ग्य हानी ।
‘ज्ञानीमायालाई विदेश पठाउने मेरो इच्छ पटक्कै छैन । किनभने अर्काको देशमा के हो के हो ? कसले लिन्छ जिम्मा ? परदेशमा कोही आफ्नो हुँदैनन् । सबै स्वार्थी हुन्छन् ।’ नारानमानले तर्क ग¥यो ।
‘भविष्य के कस्तो हुन्छ भनेर अहिले नै ठ्याक्कै भन्न पनि सकिन्न नि बुढा । जे जस्तो आइ पर्छ त्यसैको सामना गर्दै अघि बढ्ने हो । सबैका छोराछारी विदेश गएकै छन् । राम्रो नै गरेर बसेका छन् भन्ने सुनिन्छ । हाम्री ज्ञानीमाया पनि अब बच्चा छैन । बुझ्ने भइसकी । राम्रो र नराम्रोमा फरक छुट्याउन सक्छे ।’ आशामायाले आफ्नो धारणा सुनाई । ‘तैँले भनेको जस्तो कहाँ हुन्छ ? एक्ली छोरी केही गरी अभरमा परेर अष्टमानकै छोरीको जस्तो अवस्था भयो भने हामी ज्युँदै मरे हुन्छ । छोरीलाई घरमा राखिरहँदा नि पिर, विदेशमा पठाउन नि पिर । सुख केही गरे नि नहुने ।’ नारानमानले गम्भीर भएर भन्यो ।
‘पिर त भइहाल्छ नि बुढा । अब पिर गर्ने होइन । म पर्सी माइत जान्छु र यसबारे बासँग कुरा गर्छु ।’ आशामायाले आशाको दियो जगाएपछि नारानमान चुप लाग्यो । समय बित्दै गयो । ज्ञानीमायाले बाह्र कक्षा पास गरी । अब ऊ पनि साथीहरूकै लहलहैमा लागेर सके अमेरिका नसके अस्ट्रेलियामा पढ्न जान्छु भन्न थाली । छोरीको यस्तो कुरा सुनेपछि नारानमान निकै चिन्ताग्रस्त भयो । उसलाई लाग्यो, त्यो घुस्याहा बेखालालको छोरा आशालालले भगाउनुभन्दा पहिले नै ज्ञानीमायालाई बिहे गरेर पठाइदिन पाए सबै झन्झटबाट पार पाइन्थ्यो ।
यसैबिच एक दिन कामबाट नारानमान सरासर घरतिर आउँदै थियो । सडकमा अलि अलि भिड बढ्न थालिसकेको थियो ।
‘ए काका ! काका !’ भनेर बोलाएको आवाज सुनेपछि कसैले उसैलाई नै बोलाएको हो कि भनी नारानमान फर्केर आवाज आएतिर हे¥यो । उसको अघिल्तिर आशालाल मुसुक्क हाँस्दै उभिएको थियो । आज ऊ स्कुटरमा आएको थियो र उसको साथमा अर्को सानो केटा पनि थियो ।
आशालाललाई देखेर उसलाई भित्रभित्रै
रिस उठेको थियो । ‘के हो ?’ उसले रुखो आवाजमा सोध्यो ।
आशालालले केटाले बोकेको झोलाबाट एउटा बिहेको कार्ड दिँदै भन्यो, ‘काका, एघार गते बिहे छ, त्यसैको निम्तो हो । चुल्है निम्तो छ, ज्ञानीमायालाई पनि सँगै ल्याउनुस् है ।’ आशालालले नारानमानको हातमा बिहेको कार्ड दियो र मलाई हतार छ भन्दै ऊ स्कुटर चढेर गयो । नारानमानले चुपचाप त्यो निम्ता कार्ड हे¥यो । कार्ड ठुलो, एकदम सानदार र भव्य थियो । त्यो आशालालको बिहेको कार्ड थियो । आशालालको बिहेको कुरा उसकै मुखबाट सुनेपछि नारानमानको मनमा धेरै पहिलेदेखि जरा गाडेर बसिरहेको शङ्का क्षणभरमा नै छुमन्तर भएको थियो ।