• २० फागुन २०८२, बुधबार

म्याग्दीमा निर्वाचन तयारी पूरा

blog

बेनी नगरपालिका –७ स्थित बेनी सामुदायिक माविमा निर्माण गरिएको मतदान केन्द्र । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,फागु्न २० गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर रहेका ८२ वटा मतदान स्थलका एकसय २० मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी एकसय २२ मतदान केन्द्रमा निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘भोलि बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदान केन्द्रमा गर्नुपर्ने पूर्व तयारीका सम्पूर्ण कामहरु सम्पन्न भएका छन् । मतदान केन्द्र निर्माण र मतदान केन्द्रमा बस्ने उम्मेदवारका प्रतिनिधिलाई पास वितरण लगायतका सबै तयारी पूरा भएको छ ।’’

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले मतदान केन्द्रमा कर्मचारीले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । बुधबार दिउसो मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी गौतम, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापालगायत सुरक्षा निकायसहितको संयुक्त टोलीले केही मतदान केन्द्रहरुको अवलोकन गरेको थियो । 

मतदानका लागि सुरक्षाको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार तीनसय ९७ मतदाता छन् । तीमध्ये ४२ हजार तीनसय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एकजना अन्य मतदाता रहेका छन् । 

जिल्लामा ८२ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्रसहित १ सय २२ वटा मतदान केन्द्र  कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ मतदानस्थललाई समान्य भनेर बर्गीकरण गरेको छ । एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । –